
सहिद लखन र इच्छाकामना गाउँपालिकाको विवाद टुंगो लागोस
सहिदलखन गाउँपालिका वडा नं. ४ ठेउवाटारघाट(करनघाट) बाट करिब ६ हजार घनमिटर नदीजन्य सामग्री उत्खनन र ढुवानी गर्न सिन्धुपाल्चोकको त्रियुगा निर्माण सेवाले ठेक्का पारेको थियो । सो नदीजन्य सामग्री राजमार्ग निकालेर ढुवानी गर्ने व्यवस्थाका लागि सहजिकरण गरिदिन सहिद लखनले इच्छाकामनासंग लिखित सहमति पनि लिएको थियो । माघमा ठेक्का सम्झौता गरेको सो कम्पनीले त्रिशुलीमा ह्युमपाइप बिछ्याएर बालुवा ओसार्न सुरु गरेपछि इच्छाकामना गाउँपालिकाले अबरोध गरेको छ ।
चितवनतर्फको सामग्री प्रयोग गर्न थालेकाले अबरोध गरेकाले अबरोध गरेको इच्छाकामना गाउँपालिकाको दाबी छ । साथै कुरिनटारका स्थानीयबासीले नदीमा ह्युमपाइप बिछ्याई मोटर गुड्ने बाटो बनाउँदा भविष्यमा पनि नजिर बस्ने र आफ्नो मसानघाट नाश हुने भन्दै बिरोध गर्न थालेका छन् । पालिकाले सहमति दिए पनि, प्रदेश सरकारले सहमति दिए पनि आफूहरुले नदिने कुरिनटारका बासिन्दाको अडान छ ।
एकातिर ठेकेदार कम्पनीले पालिकालाई २५ लाख रुपैयाँ राजस्व तिरिसकेको छ । त्यो भन्दा धेरै खर्च गरेर त्रिशुलीको मूल प्रबाहमा ह्युमपाइप बिछ्याउने काममा समेत लगानी गरिसकेको छ, अर्कातिर आफूहरुको सभ्यता नै त्रिशुली किनारसंग जोडिएकाले त्यसको संरचना बिग्रिने गरी काम हुन नदिने स्थानीयबासीको जिकिर छ । ठेउवाटार घर भएका सहिद लखन गाउँपालिकाका वडा सदस्यले समेत त्यहाँ उत्खनन गर्दा त्रिशुलीले धार परिवर्तन गरी आफ्नो बस्ती जोखिम बनाउने भन्दै किचलो गरेका छन् ।
कहीँ यी दुई पालिका बीचको खटपट मुलुकको राजनीतिक समिकरणको अदलबदलसंग पनि जोडिएको छ कि भन्ने आशंका गर्ने ठाउँ पनि छ । तर सारमा जे भए पनि रुपमा भने बस्ती, मसानघाट, होटल तथा र्याफ्टिङ व्यवसाय जोखिममा पर्छ भन्ने दाबी गरिएको छ । यस विषयलाई दुईपक्षको उच्च तहको छलफल गरी टुंगो लगाउनु पर्छ ।




