| सोमवार, कार्तिक २३, २०८३

सम्झौता अवधिभन्दा अघि नै आयोजना सम्पन्न हुनु सुखद समाचार

अपरमाछाखोला जलविद्युत आयोजनाको सोमबार उद्घाटन भयो । विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित ४.५५ मेगावाटको सो आयोजना सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो निवास बालुवाटारबाटै उद्घाटन गरेका हुन् ।
सो आयोजना २०८० सालको असारमसान्तभित्र सम्पन्न गरिसक्नु पर्ने विद्युत विकास विभागसंग सम्झौता भएको थियो तर सम्झौता मितिभन्दा चार महिनाअघि नै आयोजना निर्माण सम्पन्न भएको हो ।

विकासका आयोजनाहरु अलपत्र भएको खबर सुन्दासुन्दै भुत्ते भएको हाम्रो काम, निर्धारित समयभित्र निर्माण नभएर अलपत्र, लथालिंग, भताभुंग भएको देख्दादेख्दै बोधो भएका हाम्रा आँखा यो समाचारले निकै उत्साहित भएका छन् । झोलामा खोला हालेर हिँड्ने नेपालको बिडम्बना छ । तर निर्धारित समयभन्दा अघि नै सम्पन्न गरेको यो समाचार सबका लागि खुशीको समाचार हो, सुखको खबर हो ।

सो आयोजना धार्चे गाउँपालिका ४ जेर्बुखोलामा करिब एकअर्ब दुई करोड रुपैयाँमा निर्माण भएको हो । जसको कुल लागतमध्य ६५ प्रतिशत ऋण राष्ट्रिय वाणिज्य वैँक र बाँकी ३५ प्रतिशत लगानी स्वदेशी तथा विदेशमा रहेका नेपालीले संयुक्त रुपमा गरेका छन् ।

आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ । सो आयोजनाबाट उत्पादित विद्युत २३ किलोमिटर पर धादिङको बसेरी सबस्टेशनमा लगेर जोडिएको प्रवर्धक धितालले बताए ।

यो आयोजनाबाट अरु विद्युतसम्बन्धी वा अन्य सम्बन्धी आयोजनाले यो पाठ सिक्नुपर्छ कि, कुनै पनि आयोजना सम्पन्न गर्ने र उपभोक्ता (नागरिक)लाई हस्तान्तरण गर्ने हो । भलै ठेकेदारले त्यसलाई कमाउने धन्धाका रुपमा लिएको होला, तर त्यो भन्दा बढि विकासका आयोजनाहरु निम्नबर्गीय जनताका लागि बनेका हुन्छन् । विकास निर्माणको कामलाई प्राथमिकताका साथ सम्पन्न गर्नुपर्छ । यस आयोजनाबाट अरुले पनि पाठ सिक्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्