
प्रधानमन्त्री दाहालद्वारा अपर माछाखोला जलविद्युत आयोजनाको भर्चुअल उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले भर्चुअल माध्यमबाट गोरखाको अपरमाछाखोला जलविद्युत आयोजनाको उद्घाटन गरेका छन् । विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित ४.५५ मेगावाटको सो आयोजनाको सोमबार प्रधानमन्त्री दाहालले आफ्नो निवास बालुवाटारबाटै उद्घाटन गरेका हुन् ।
आयोजनाको भर्चुअल उद्घाटन गर्दै उनले आफूले गोरखाको वृहत विकासको परिकल्पना गरेको भन्दै यस हाइड्रो त्यसको सहायक हुनसक्ने बताए । साथै उत्तरी गोरखामा उत्पादन हुने जलविद्युत केन्द्रीय प्रशारणमा जोड्न सहज हुने गरी माछाखोला आसपास १३२ केभिएको प्रशारण लाइन ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
सो अवसरमा गोरखा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाई पनि सहभागी थिए । उनले बिकट भौगोलिक अवस्थितिका बाबजुद आयोजना सम्पन्न गरेकामा प्रवद्र्धक कम्पनीलाई धन्यवाद दिए । साथै बूढीगण्डकी करिडोरमा एकहजार मेगावाट भन्दा बढि क्षमताका विभिन्न जलविद्युत आयोजनाहरु सञ्चालन हुने भएकाले उपयुक्त क्षमताको सबस्टेशन, प्रशारण लाइन आदि पूर्वाधारको व्यवस्था गरिदिन प्रधानमन्त्री समक्ष अनुरोध गरेका थिए ।
सो आयोजना धार्चे गाउँपालिका ४ जेर्बुखोलामा निर्माण भएको हो । २०७८ सालभित्रै काम सकेर विद्युत उत्पादन गर्ने रहे पनि कोभिडका कारण काम सम्पन्न गर्न केही ढिला भएको प्रवद्र्धकमध्येका एक सरोज धितालले भने ।
करिब एकअर्ब दुई करोड रुपैयाँमा निर्माण सम्पन्न भएको अपर माछाखोला जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापनको प्रवन्ध राष्ट्रिय वाणिज्य वैँकले गरेको छ । बैंकले सो आयोजनाको कुल लागतमध्य ६५ प्रतिशत ऋण लगानी गरेको छ । बाँकी ३५ प्रतिशत लगानी स्वदेशी तथा विदेशमा रहेका नेपालीले संयुक्त रुपमा गरेका छन् ।

आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ । सो आयोजनाबाट उत्पादित विद्युत २३ किलोमिटर पर धादिङको बसेरी सबस्टेशनमा लगेर जोडिएको प्रवर्धक धितालले बताए ।
जेर्बुखोलामा बाँध बाँधेर १८०० मिटर नहरबाट रेसीफाँटमा पावरहाउस बनाइएको छ । २०८० सालको असारसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्धारित समयभन्दा अगाडि नै निर्माण कार्य सम्पन्न भएको हो ।




