
औषधीको तथाकथित कारोबारीलाई नियमन गर
एकतामा बल हुन्छ । त्यसैले एउटै प्रकृतिको व्यवसाय गर्ने व्यवसायीहरु एकजुट भई छाता संस्था गठन गर्छन् । व्यवसायीहरुको संरक्षण र सशक्तिकरण गर्न छाता संस्था बनेको हुन्छ । छाता संस्थाले माताहतका व्यवसायीहरुलाई तालिम, सीप प्रदान गरी सशक्तिकरण गर्ने, राज्यले लागु गरेका नीति र नियमका बारे सचेत गराउने, निपूर्ण बनाउने काम गर्छ ।
सँधै व्यवसाय मात्र गरेर बस्दा सामाजिक गतिविधिबाट बिमुख भएका व्यवसायीहरुलाई छाता संस्थाले सामाजिकरण गर्न मद्दत गर्छ । विश्वमा पछिल्लो समय अभ्यास भइरहेका नयाँनयाँ प्रयोग र अभ्यासहरुका बारेमा व्यवसायीहरुलाई अद्यावधिक गराउँछ ।
त्यस्तै माताहतका व्यवसायीहरुलाई बाह्यशक्तिबाट आइपर्ने समस्या र झण्झटबाट बचाउन मद्दत गर्छ । यसले होस्टेमा हैँसे गर्छ र आर्थिक, नैतिक, भौतिक हरतरहले सबल, सशक्तिकरण गराउँछ । प्रतिपक्षबाट हुने कुनैपनि खालको आक्रमणबाट जोगाउन लड्छ । औषधी व्यवसायीहरुको पनि छाता संस्था छ । यसले गाउँ तथा सहरमा औषधीको व्यवसाय गर्ने व्यवसायीहरुलाई समेटेर संघ बनाएको छ ।
यसले व्यवसायीहरुलाई सशक्त बनाउन काम गरिरहेको छ । साथै संरक्षण, संवद्र्धन, प्रवद्र्धन, विकास गर्न मद्दत गरिरहेको छ । साथै संघमा आवद्ध पनि नभएका, सरकारी मापदण्डभित्र पनि नरहेका, कर नतिरेका तथाकथित औषधी व्यवसायीहरुले गाउँठाउँमा झोले व्यापार गरी उपभोक्तालाई पनि ठग्ने, वैध व्यवसायीहरुको व्यवसायमा पनि दाग लगाउने, व्यवसायमा आँच आउने काम गर्ने गरेको पाइन्छ । यस्ता व्यवसायीलाई निरुत्साहित गर्ने काम सरकारी निकायको पनि हो र छाता संस्थाको पनि हो ।
यही व्यवसाय गर्न सहरमा भाडामा सटर लिएर, घरेलु उद्योग तथा राजस्व कार्यालयमा दर्ता गरी बसेका छन् । तर दर्ता पनि नभएका, राजस्व पनि नतिरेका, गुणस्तरको पनि कुनै निशिचत नभएका औषधीहरु बिक्री गर्नेहरु पनि छन् ।
ती सेवाग्राहीका लागि पनि हानिकारक हुन्छन् । व्यवसायीहरुका लागि हानिकारक हुन्छन् र सरकारका लागि पनि हानिकारक हुन्छन् । त्यसैले त्यस्ता तथाकथित व्यवसायीलाई नियमन गर्नु अपरिहार्य हुन्छ ।




