| आइतवार, कार्तिक २२, २०८३

गण्डकीले थाल्यो ५० प्रतिशत छुटमा ब्यवशाय दर्ता र घरजग्गाको अभिलेखिकरण

गोरखाको गण्डकी गाउँपालिकाले ५० प्रतिशत छुटमा ब्यवशाय दर्ता र घरजग्गाको अभिलेखिकरण सुरु गरेको छ । पालिकाबासीलाई करको दायरामा ल्याउने योजना सहित गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहकार्यमा बिहिवारदेखि शिविरका रुपमा कार्यक्रम सुरु गरिएको प्रशासकिय अधिकृत रिजेश उपरकोटीले बताए ।

‘यो कार्यक्रम हरेक वडामा संचालन हुनेछ’ उनले भने ‘फागुन महिना भरी हामी टोलटोलमा संचालन गर्छौँ, त्यो बेला सर्वसाधारणले त्यहाँ नै आफ्नो ब्यवशाय दर्ता र घरजग्गाको अभिलेखिकरण गर्न सक्नुहुन्छ ।’ असार मसान्त सम्म ५० प्रतिशत छुटमा वडा कार्यालयमा दर्ता गर्न सकिने उनले बताए ।

असार मसान्त सम्म पनि ब्यवशाय दर्ता र घर जग्गाको अभिलेखिकरण नगर्नेलाई थप हर्जना लाग्न सक्ने बताउँदै प्रमुख प्रशासकिय अधिकृत उपरकोटीले समयमै कर तिरेर ५० प्रतिशत छुट लिन सर्वसाधारणलाई अनुरोध गरे ।
टोलटोलमा गाउँपालिकाले दर्ता टोली पठाएका बेला सर्वसाधारण त्यहाँ आफ्नो नाम, घर, जग्गा ब्यवशाय दर्ता गराउन सक्नेछन् । उनीहरुलाई फरक फरक कोड नम्बर दिईनेछ । अन्य समयमा वा यसपछिको आर्थिक वर्ष त्यो कोड प्रयोग गरेर कर तिर्न सक्छन् ।

गाउँपालिकाले मोवाईल वालेट, खल्ती, ईसेवा लगायतबाट कर तिर्ने ब्यवस्था गरेको छ । गण्डकी प्रदेस सरकारको एक करोड ४० लाख र गाउँपालिकाको ६० लाखमा उक्त कार्यक्रम सुरु भएको छ । एक करोड रुपैयाँ गण्डकी प्रदेस सरकारबाट गाउँपालिकालाई प्राप्त भईसकेको उनले बताए ।

‘गाउँपालिकाबासीलाई कर तिर्नुपर्छ भन्ने ज्ञान होस् र सबैलाई करको दायरामा ल्याउन यो कार्यक्रम सुरु गरेका हौँ’ प्रमुख प्रशासकिय अधिकृत उपरकोटीले भने ‘यसले पालिका भित्र कस्ता ब्यवशायी कति छन् भन्ने अभिलेख आउँछ, अन्य कार्यक्रमहरु संचालन गर्नपनि सजिलो हुन्छ ।’

वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरु मार्फत सर्वसाधारणलाई सुचित गराउँदै करको दायरामा ल्याउन शिविर संचालन गरिएको छ । बिहिवार वडा नम्बर ६ बाट शिविर सुरु भएको छ । वडामा संकलन हुने करको आधारमा बजेट बिनियोजन हुने हुँदा त्यसले वडाको बिकासमापनि मद्धत पुग्ने उनले बताए ।

घर, ब्यवशाय र जग्गाको दर्ता अभिलेखिकरण भने गाउँपालिकाका कर्मचारीले गरिदिनेछन् । त्यस बापत लाग्ने कर वार्षिक रुपमा सर्वसाधारणले तिर्नुपर्छ । यसरी तिरेको करको बिवरण जतिसुकै बेला हेर्न र आवस्यक पर्दा प्रिन्ट गरेर प्रयोग गर्न सकिन्छ ।

गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिजेस उपरकोटीको अध्यक्षतामा बिहिवार गाउँपालिकामा भएको सुभारम्भ कार्यक्रममा वडा अध्यक्षहरु तोपमान गुरुङ, यमबहादुर थापा, पहलमान बयलकोटी, तुलबहादुर गुरुङ, तुलसी रेग्मी, कोकिलबहादुर मगर, कार्यपालिका सदस्य एवं प्रवक्ता सिताराम विश्वकर्मा, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा लगायतले मन्तब्य राखेका थिए ।

वडा अध्यक्षहरुले करको दायरामा ल्याउने विषय राम्रो भएको र यसका बारेमा सर्वसाधारणलाई जनप्रतिनिधिले राम्रो सँग बुझाउन भने जरुरी भएको बताएका थिए । उक्त कार्यक्रमको सहजिकरण सागर शर्मा र गोपी कोईरालाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्