
किसानको उत्पादनलाई बजार खोई !
किसानको उत्पादनले बजार नपाएको विषय नौलो होईन । बजारभरी भारतबाट आयातित उत्पादन छरपष्ट छ । आयातित उत्पादनले नेपाली उत्पादनलाई छायाँमा पारेको छ । स्वस्थकर होस् नहोस् त्यसको गुणस्तर चेकजाँच भएको हुँदैन । केही रुपैयाँ सस्तो भएपछि हामी नेपाली बजारको उत्पादन छाडेर अन्यत्रबाट कयौँ समयमा आएका उत्पादन प्रयोग गर्छौँ । यसको सबैभन्दा धेरै मार नेपालमा किसानलाई परेको छ ।
किसानलाई ब्यवशायीक बनाउन भन्दै वडा, स्थानीय सरकार, प्रदेश र संघिय सरकारले आफु अनुकुलका योजना ल्याएका छन् । आधुनिक यन्त्र उपकरण, उन्नत बिजबिजन, अनुदानका कार्यक्रम बिगतदेखि चलिरहेको छ । अनुदान ब्यवस्थित नभएको गुनासो आउन छाडेको छैन । अर्कोतर्फ केही किसानले उत्पादन पनि बढाईरहेका छन् । तर यहाँका किसानको उत्पादनले बजार नपाउने र भारतिय बजारबाट आउने उत्पादनले यहाँको बजार छपक्कै ढाक्ने परिपाटी मौलाउँदैछ ।
बिचौलियाले कमिसनको लोभमा ठुलो परिणाममा बाहिरबाट उत्पादित बस्तु नेपाल भित्र्याएर यहाँको उत्पादनलाई बजार सम्म आउन दिएको छैन ।
किसानलाई उत्पादन गर पनि भन्ने, ब्यवशायीक हुनुपर्छ भन्ने र बजारको प्रबन्ध नगर्ने हो भने जति अनुदान दिएपनि किसान कहिल्यै ब्यवशायीक बन्न सक्दैनन् । नेपाली माटोमा हुने उत्पादन बाहिरबाट ल्याउन प्रतिबन्ध गर्नुपर्छ । यहाँ खेर जाने अन्यत्रबाट आएका सोही प्रकृतीका उत्पादनले बजार पाउनु भनेको आर्थिक संकट आफैँ निम्त्याउनु हो ।
गोरखाको धार्चे गाउँपालिका २ केरौँजाबेसीका किसानले उत्पादन गरेको बेसारले बजार नपाएपछि अहिले उनीहरु चिन्तामा छन् । मकै, कोदो लगाउँदा बाँदरले खाएपछि हैरान भएका स्थानीय बेसार लगाउँदा बजार नपाएपछि घरमै थन्काउन बाध्य छन् ।
अदुवा र हलेदो खेती गर्न फेज नेपाल नामक गैरसरकारी संस्थाले उनीहरुलाई बीउ वितरण गरेको थियो । उनीहरुलाई संस्थाले दिएको बिउ राम्रो होला भन्ने लाग्यो र ब्यवशायीक उत्पादन गर्ने योजना सहित लगाए । अहिले संस्था त्यहाँ कार्यक्षेत्र छाडेर अन्यत्र गयो । बेसारको बजार किसान सँग छैन । गत वर्ष एक सय ५० रुपैयाँ प्रतिकिलो हलेदो बेचेका किसानले ५ देखि २० रोपनी क्षेत्रफलमा लगाएको हलेदो अव के गर्ने ?




