| आइतवार, कार्तिक २२, २०८३

सिरानचोकका बोगटीले जिते रोट्रयाक्टको खुल्ला दौडको उपाधि

रोट्रयाक्ट क्लव अफ दमौलीले आयोजना गरेको खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखाको सिरानचोक गाउँपालिका–३ का दिनेशसिंह बोगटीले जितेका छन् । क्लवले आइतबार दमौलीमा आयोजना गरेको २० औं स्वर्गीय रोटरियन सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको ९ किलोमिटर दुरी २९ मिनेट ३० सेकेण्डमा पार गर्दै बोगटीले उपाधि हातपार्न सफल भएका हुन् ।

तनहुँको सदरमुकाम दमौली स्थित अनसनचोकबाट छाब्दी बाराही मन्दिरसम्मको ९ किमि दूरीमा आयोजना गरिएको प्रतियोगितामा आँबुखैरेनी गाउँपालिका–१ सत्रसयका सनम गुरुङले ३० मिनेट १० सेकेण्डमा पार गर्दै द्वितीय भएका छन् । प्रतियोगितामा उक्त दुरी ३० मिनेट ५२ सेकेण्डमा पार गर्दै ललितपुर महानगरपालिका–४ का विकेश घिमिरे तृतीय भएका छन भने ३२ मिनेट २० सेकेण्डमा उक्त दुरी पार गर्दै भानु–१२ बयापानीका अनिल मझकोटीले सान्त्वना स्थान हाँसिल गरेका छन् ।

यस्तै महिलातर्फ ३८ मिनेट २० सेकेन्डमा उक्त दूरी पार गर्दै व्यास–५ पाटनकी सुस्मिता रानाभाट र ५९ मिनेट ५८ सेकेण्डमा उक्त दूरी पार गर्दै व्यास– १ खकौलीका १२ वर्षीय बाल धावक कृतिक घर्ती सान्त्वना भएको प्रतियोगिताका संयोजक उमेश पौडेलले जानकारी दिए । प्रतियोगितामा ८८ जना धावकको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथमलाई १४ हजार रुपैयाँ, द्वितीयलाई १२ हजार रुपैयाँ र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । त्यस्तै सान्तवना, महिला प्रथम र बाल धावकलाई जनही २ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको रोटरÞ्याक्ट क्लब अफ दमौलीका सचिव किरण श्रेष्ठले बताए । विगतका वर्षहरुमा प्रशासनचोकबाट शुरु भई घाँसीकुवा पुगेर पुनः प्रशाचनचोकमा आएर दौड प्रतियोगिता सकिने गरेपनि दुइ वर्ष अघिदेखि दौडको रुट परिवर्तन गरिएको छ ।

छाब्दीवाराही मन्दिरको धार्मिक पर्यटन प्रबर्द्धनका लागि पनि दौडले सहयोग पुग्ने क्लवका अध्यक्ष विशाल श्रेष्ठले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदले अनुशासन र स्वास्थ्यमा समेत सहयोग पुग्ने बताए ।

यस्तै कार्यक्रमको समापन समारोहमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले परिवर्तन यहि उमेर समुहका युवाले सुरु गर्ने गरेको र गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्