| आइतवार, कार्तिक २२, २०८३

सातौँ गोर्खाली रनिङ कप सुरु, याङकोटलाई हराउँदै हरमटारी बिजयी

आईतवारबाट गोरखामा सातौँ ‘गोर्खाली रनिङ कप’ फुटबल प्रतियोगिता सुरु भएको छ । पहिलो खेल याङकोट युथ क्लव र हरमटारी क्लव ए बीच भएको थियो । उक्त खेलमा ७–२ गोलअन्तरले हरमटारी क्लव ए बिजयी बनेको छ ।


खेलको पहिलो हाफमा पहिलो गोल गरेको याङकोटले अग्रता एक मिनेट पनि टिकाउन सकेन । आत्माघाती गोलका कारण याङकोट र हमटारी ए बिच खेल एक-एक गोलको बराबरीमा पुग्यो । पहिलो हाफमै हरमटारी ए ले १ गोल थप्दै खेललाई २–१ गोल अन्तरमा पु¥यायो ।
दोस्रो हाफमा ५ गोल थप्दै अन्तत खेल ७–२ को अन्तरमा हरमटारी ए उद्घाटन खेलको बिजेता बन्यो । दोस्रो हाफमा याङकोटले १ गोल फर्काएको थियो । हरमटारी क्लवको जितकालागि जमिर मास्केले ह्याट्रिक गरेका थिए । उनी उक्त खेलको म्यान अफ द म्याच घोषित भए ।


खेलको प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईले उद्घाटन गरेका हुन् । हरमटारी क्लवका अध्यक्ष जिबन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य नन्दप्रसाद न्यौपाने, आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङ, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा लगायतले खेल सफलताको शुभकामना ब्यक्त गरेका थिए ।


प्रतियोगिता अघि हरमटारी क्लवका महिला खेलाडीहरु बिच मैत्रीपूर्ण खेल भएको थियो । यस वर्षदेखि महिला खेलाडी तयार गर्ने उद्देश्यले हरमटारी क्लवले प्रशिक्षण सुरु गरेको थियो । प्रशिक्षार्थी महिला खेलाडीहरुबिचको खेल निकै रोमाञ्चक थियो ।
सोमवार बिहानको पहिलो खेल सतिपिपल क्लव र भिमसेन तारा युथ क्लव बिच हुनेछ भने दोस्रो खेल साँढे १२ बजे द ओसन क्लव र पृथ्वी युवा क्लव बिच हुनेछ । सोमवारको तेस्रो तथा अन्तिम खेल हरमटारी क्लव बि र खोप्लाङ एफ सि बिच हुने क्लवका महासचिव किरण ढकालले बताए ।


कोभिडका कारण विगत तीनबर्षसम्म रोकिएको गोर्खाली रनिङकप यसबर्ष भएको हो । जिल्लाभित्र सक्षम तथा स्तरीय खेलाडी तयार गरी बाह्य क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडी उत्पादन गर्न गोर्खाली रनिङ कपलाई निरन्तरता दिएको क्लवका अध्यक्ष गुरुङले बताए ।
गोर्खाली कप २०७० सालबाट सुरु भएको हो ।
हरमटारीस्थित खेलकुद मैदानमा हुने उक्त प्रतियोगिता संचालनका लागि २५ लाख ५५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । सोमध्य दुईलाख आयोजकले संस्थाले बेर्होने र अन्य रकम सहयोगी तथा प्रायोजकहरुबाट संकलन गर्ने लक्ष्य राखिएको क्लवका महासचिव किरण ढकालले बताए ।


जिल्लाकै सर्वाधिक पुरस्कार राशीको मानिएको गोर्खाली रनिङ प्रतियोगिता विजेता टिमले नगद दुई लाख २२ हजार दुई सय २२ रुपैया र उपविजेता नगद एक लाख ११ हजार एक सय ११ रुपैया नगद सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका महासचिव किरण ढकालले बताए । त्यस्तै, सेमिफाइनलिस्ट हुने दुई टिमले क्रमश ५०-५० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


सो प्रतियोगितामा विभिन्न विधा अन्तरगत सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार, सर्वोत्कृष्ट अग्रपंक्ति, सर्वोत्कृष्ट मध्यपंक्ति, सर्वोत्कृष्ट रक्षक, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट गोलकर्तालाई रु ७ हजार ५ सय \७ हजार ५ सयका दरले नगद पुरस्कार सहितसम्मान गरिने उनले बताए ।
त्यस्तै, हरेक खेलमा एक जना खेलाडीलाई म्यान अफ द म्याच घोषित गरी नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगिता अवलोकनका लागि हरेक व्यक्तिबाट रु २० रुपैयाँ टिकटको व्यवस्था गरिएको आयोजक हरमटारी क्लव गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्