| सोमवार, कार्तिक २३, २०८३

जर्मन बेहुला, नेपाली बेहुली नेपाली संस्कृति अनुसार बिबाह


होटल गोरखा गार्डेनको आँगनमा जग्गे, जग्गेमा बेहुली बनेर बसेकी भवानी रेग्मी र उनको दायाँतर्फ बेहुला लार्स माक्र्स दौरा सुरुवालमा सजिएका थिए । आँगनभरि दौरा, सुरुवाल र साडी चोलोमा सजिएका जर्मन जन्ती थिए, अर्कातिर नौमती बाजा बजाउँदै महिला बाजा समूह नाचगान गर्दै थिए ।


गोरो छाला र अग्ला कद भएका जर्मन जन्ती गोरखा बजारकी चेलीसित बिहे गर्न एकसाता अघिदेखि आएर बसेका थिए । शनिबार फागुन कृष्ण त्रयोदशीमा बिहेको लगन जुराइएको थियो ।


पुरोहित थिए, विष्णु खनाल । उनले हिन्दू रीति रिवाज अनुसार विधि विधान पु¥याएर विहे गराइदिए । सिन्दुर हाल्ने, कन्यादान दिने तथा मारे पाप, पाले पुण्य भनेर अन्माउने काम भयो ।


अर्कातिर जर्मन जन्तीहरु घरबेटीहरुसित हातमा हात समातेर दिनभरि नाचे । दुवैतर्फका सम्धी, सम्धिनीहरुलाई पनि हात समातेर नचाए ।


लार्स माक्र्स र उनका अभिभावकहरु नेपाली परम्पराअनुसार बिबाह गर्न पाउँदा उत्साहित देखिन्थे । ‘नेपाली परम्पराअनुसार बिहे गर्न मैले एकचोटी मात्र प्रस्ताब गरेका थिएँ, उहाँ र उहाँको परिबारले एकदम खुशीसाथ स्वीकार्नु भयो’, भवानीले भनिन्, ‘अनि फागुन १ गते मसहित उहाँहरु पनि नेपाल आएका हौँ ।’


भवानी रेग्मी इन्भारमेण्टल इञ्जिनियर हुन् । उनी पढ्का लागि १३ बर्षअघि जर्मनी पुगेकी थिइन् । पढ्ने तथा रोजगारीका क्रममा लार्स माक्र्ससित उनको प्रेम सम्बन्ध स्थापित भएको थियो । प्रेम सम्बन्धलाई नेपाली धर्म, संस्कार, संस्कृतिअनुसार शनिबार बिबाहमा परिणत गरिएको हो ।


शनिबार साँझ भवानीलाई अन्माएर जर्मनी लाने अवस्था थिएन त्यसैले बेहुली र जन्तीलाई सोही होटलमा छाडेर घरबेटीहरु साँझ घर फर्किए ।


जर्मन नागरिक सबैले नेपाली टोपी, नेपाली दौरा सुरुवाल, निधारमा रातो टीका लगाएर नौमती बाजा बजाएर नेपाली गीतमा दिनैभरि नाचेको देखेर साह्रै खुशी लागेको घरबेटी खडानन्द रेग्मीले बताए । महिला बाजा समूहले बाजा बजाएको देखेर हामी पनि दंग थियौँ, उनीहरु पनि निकै अचम्म मानिरहेका थिए ।

‘नेपालका इशाइहरु रातो टिका लगाउन आनाकानी गर्छन्, तर उनीहरु सबैले रातो टिका लगाएर नेपाली संस्कार, संस्कृतिलाई इज्जत दिएर मज्जाले रमझम गरेको देख्दा असाध्यै रमाइलो लाग्यो’, उनले भने, ‘जर्मनीदेखि जन्ती आएर नेपाली रीतिथिति अनुसार विहे गरेको गोरखामा मैले पहिलो पल्ट देखेको हो ।’

प्रतिक्रिया दिनुहोस्