
क्याम्पस प्रमुखमाथिको आक्रमण उग्रताको हद
नेपालीमा उखान छ, जसले हान्यो, उसले जान्यो । समाजमा व्यप्त गलत परिपार्टीलाई इङ्गित गर्ने उखान हो यो ।
घटनाक्रमको अध्ययन गर्दा देखिन्छ पनि त्यस्तै कि, जसले उग्रता प्रदर्शन ग¥यो, उही नायक बनिरहेका छन् । टिकापुर हत्याकाण्डले रेशम चौधरी नेता बने, गौर हत्याकाण्डले उपेन्द्र यादव, इत्यादि ।
समाजमा पनि राजनीतिकको खोल ओढेर जसले उग्रता प्रदर्शन गर्छ, उसलाई दण्डित गर्नुको साँटो राजनीतिक पस्मिना ओढाएर प्रोत्साहित गर्ने गरिन्छ । यस्तो जगमा उभिएको राजनीतिको नतिजा कस्तो हुन्छ ? सिधै अनुमान गर्न सकिन्छ । काउसो रोपेर सिमी पक्कै फल्दैन ।
जब विभिन्न पालिकाहरुले ‘जनयुद्ध दिवस’ भन्दै सार्वजनिक विदा दिन थाले, त्यो विषय माओवादी वृत्तबाहेक सवैतिर आलोचित भइरहेको थियो । एउटा पार्टीको कार्यक्रम गर्न पालिका नै विदा गर्नु उचित हुदैन भनेर एउटा परिधिबाहेक सबैतिरबाट विरोधको स्वर गुञ्जिरहेको थियो । त्यतिबेलै संघीय सरकारले नै सार्वजनिक विदा घोषणा गरिदियो ।
यही बिषयमा द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीले सामाजिक सञ्जालमा स्टाटस जारी गरेका थिए । स्टाटसमा संविधानले नचिनेको जनयुद्ध शव्दलाई स्थापित गराउन खोजेकोप्रति विरोध थियो र नेपाल सरकार मुर्दावाद भनिएको थियो । नीजि एकाउण्टबाट नीजि विचार जाहेर गर्नु उनको अधिकार थियो, प्रयोग गरे ।
यद्यपि सामाजिक सञ्जालमा लेखिने स्टाटसले सम्बन्धित व्यक्तिको स्टाटस प्रदर्शन गर्छ । एउटा जिम्मेवार पदमा आसिन व्यक्तिले तल्लोस्तरको शव्द प्रयोग गरेर स्टाटस लेख्नु हुन्थ्यो हुन्नथ्यो, त्यसले उनकै व्यक्तित्वमा असर गथ्र्यो ।
यद्यपि उनका बुबा तत्कालीन सशस्त्र युद्धरत माओवादीबाट मारिएका थिए । त्यसको पीडा हुनसक्ला । त्यो पक्ष, विपक्षका तर्फबाट गर्ने वहशको विषय थियो । त्यसबारे अन्य तरिकाले समस्या निदान गर्न सकिन्थ्यो ।
तर मुलुक शान्ति प्रक्रियामा अघि बढिरहेको अवस्थामा विचार अभिव्यक्त गरेकै आधारमा क्याम्पस प्रमुखको कार्यकक्षभित्र जिम्मेवार पदमा रहेका विद्यार्थी नेताहरुले भौतिक आक्रमण गर्नु ज्यादै दुखद विषय हो । यसले उनीहरुमा निहित उग्रताको हद प्रदर्शन गर्छ ।




