
गण्डकी प्रदेशमा संसदबाट पारित योजना काटेर ‘खल्तीका योजना’ मा बजेट राख्न ऐन संशोधन
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट पुस्तक बाहिरका योजनामा रकमान्तर गर्न पाउने गरी विनियोजन ऐन २०७९ संशोधन गरेको छ । आर्थिक मामिलामन्त्री सीता सुन्दासले पेस गरेको संशोधन विधेयक शुक्रबार प्रदेश सभाको बहुमतले पारित गरेको हो । विधेयक पारित भएसँगै सरकारलाई रातो किताबका योजनामा विनियोजित बजेट हटाएर किताबमै नरहेका योजनामा बजेट विनियोजन गर्ने बाटो खुलेको छ ।
विनियोजन ऐनमा रहेको वार्षिक बजेट पुस्तकमा उल्लिखित योजनाका बजेट रकमान्तर गरेर बाहिरका योजनामा विनियोजन गर्न नपाउने व्यवस्था थियो । उक्त व्यवस्था संशोधन गर्दै मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले संसदबाट पारित बजेटका योजनामा विनियोजित रकम काटेर बजेट बाहिरका योजनामा रकमान्तर गर्न पाउने व्यवस्था गरेका हुन् ।
ऐनमा चैत मसान्तअघि रकमान्तर गर्न नपाउने व्यवस्था पनि संशोधन गरेर माघमै संशोधन गर्न पाउने व्यवस्था राखिएको छ । यस्तै बजेट सिस्टममा संसदबाट पारित नभएका योजना समावेश गराउन पनि ऐन संशोधन गरिएको छ ।
प्रदेश सभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७९ संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको थियो। छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले विनियोजन ऐन संशोधनको विरोध गरेका थिए ।
ऐन संशोधन प्रस्तावमाथि छलफलका क्रममा कांग्रेस सांसद भोजराज अर्यालले प्राथमिकताका आधारमा छनौट गरिएका आयोजना ऐन संशोधन गरेर हटाउन नहुने बताए । नयाँ सरकार आएपछि पुरानो सरकारले ल्याएको बजेट तोडमोड गरेर आफूअनुकूल बनाउने गलत अभ्यास भइरहेको पनि उनले बताए ।
‘पार्टी र कार्यकर्ताको भरणपोषणलाई आधार बनाएर बजेट तोडमोड गर्न थाल्यौं भने प्रक्रियाले हामीलाई जिस्क्याएको हुन्छ,’ उनले भने, ’यस्तो गलत परम्परा दोहो¥याउँदै जाँदा हाम्रा सामु चुनौती खडा भएको छ ।’
प्रदेशलाई ’सेतो हात्ती’ का रूपमा चित्रण गरिरहेको भन्दै उनले सरकारका गतिविधिले नागरिकमा सकारात्मक मान्यता पाउन नसकेको बताए ।
अर्थमन्त्री सीता सुन्दासले बजेट कार्यान्वयनमा कठिनाइ भएकाले विनियोजन विधेयक संशोधन गर्नुपरेको बताइन् । गलत तवरले काम गर्ने मनसाय नराखेको भन्दै उनले बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न ऐनमा भएका केही बुँदा संशोधन गर्नुपरेको बताइन् ।
’बजेट कार्यान्वयन प्रभावकारी बनाउन र रकमान्तरलाई व्यवस्थित गराउन संशोधन विधेयक आवश्यक परेको हो,’ उनले भनिन्, ’कुनै आशंका नगर्न अनुरोध गर्छु ।’




