
गोरखामा रेबिज खोप तथा बन्ध्याकरण शिविर सम्पन्न
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाको आयोजनामा रेबिज खोप तथा बन्ध्याकरण शिविर सम्पन्न भएको छ । रेबिज रोग नियन्त्रणको लागि सामुदायिक तथा छाडा कुकुरहरुलाई व्यवस्थापन गर्नका लागि रेबिज खोप तथा बन्ध्याकरण शिविर संचालन गरिएको कार्यालय प्रमुख डाक्टर शर्मिला कुमालले बताइन् ।
शिविरमा ४८ वटा पोथी कुकुर र ६८ वटा भाले कुकुर गरी एक सय १८ वटा कुकुरको रेबिज खोपसँगै बन्ध्याकरण गरिएको उनले बताइन् । शिविरमा गोरखा नगरपालिका वडा नं ६, वडा नं १० र भीमसेन थापा गाउँपालिकाको घ्याम्पेसालबाट स्थानीयहरुले छाडा तथा घरपालुवा कुकुर ल्याएका थिए ।
स्थानीय तहसँगको सहकार्य रेविज रोग नियन्त्रणको लागि सामुदायिक तथा छाडा कुकुरहरुलाई बन्ध्याकरण तथा खोप नियन्त्रणका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सोहि बजेटबाट २५ र २६ गते शिविर संचालन गरिएको उनले जानकारी दिइन् ।
रेबिज खोप नलगाउदा स्थानीयहरुमा कुकुरको टोकाईबाट रेबिज फैलिने डर हुने र छाडा कुकुरहरु धेरै हुँदा मानिसहरु आउजाउ समेत समस्या हुदै आएको थियो । अहिले शिविरबाट रेबिज विरुद्धको खोप लगाएसँगै कुकुरको टोकाइबाट लाग्ने रेबिज रोग नियन्त्रण हुने र रातीको समयमा सुरक्षित रुपमा आउजाउ गर्न सहज भएको उनको भनाइ छ । साथै कुकुर बन्ध्याकरण गर्दा कुकुरको बृद्धिदर पनि कम हुने उनको भनाइ छ ।
जिल्लामा अहिलेसम्म रेबिज रोग नदेखिएता पनि सजक भने हुनुपर्ने उनले बताइन् । सन २०२३ सम्ममा नेपाललाई रेबिज रोगलाई सुन्यमा झार्ने सरकारको योजना रहेको र सोहि योजना अनुसार कार्यालयबाट काम भइरहेको जनाएको छ ।
भेटिरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको आयोजना तथा मञ्जु भेटिनरी क्लिनिक भक्ततपुरको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।




