
मकै विवाहलाई प्रवद्र्धन गरौ
आस्था धेरै ठूलो हुन्छ । आस्थासामु सबै कमजोर हुन्छन् । आस्था गल्दैन, आस्था ढल्दैन । त्यसैले जस्तो सुकै सकस झेलेर पनि आफ्नो आस्थालाई मान्छेले निरन्तरता दिइरहेका हुन्छन् ।
संस्कार र संस्कृति पनि आस्थामै अडेको हुन्छ । संस्कार र संस्कृतिले उसको पहिचान झल्काएको हुन्छ । त्यसैले कतिपय शैक्षिक प्रतिष्ठानहरुले संस्कारसहितको शिक्षण भनेर नारा नै बनाएका हुन्छन् ।
सबैतिर सबैले अपनाएको संस्कृति त साझा भइहाल्यो, तर कुनै कुनै यस्ता संस्कृति पनि हुन्छन्, जुन निश्चित भेगमा, निश्चित समुदायमा मात्र सीमित हुन्छन्, त्यसको महत्व ज्यादा हुन्छ ।
प्रसंग मकै विवाहको हो । लाप्राकमा हुने गरेको मकै विहे एउटा त्यस्तो संस्कार हो, जुन अन्त पाइँदैन । त्यो संस्कार गुरुङ समुदायको मात्र होइन, किनकि, गुरुङ समुदाय त लम्जुङ गोरखा, कास्की इत्यादि जहाँतहीँ छन् । सबै ठाउँमा यो संस्कार छैन । यो भेगको संस्कार पनि होइन, किनभने धार्चे भेगकै पनि अरु सबै ठाउँमा यो संस्कार छैन ।
यसको साँगुरो सीमितता छ, तर फराकिलो महत्व छ । त्यसैले यसलाई जोगाउनु मात्र होइन, जगाउनु(उजागर गर्नु) पनि पर्छ ।
मकै विवाह प्रकृति पुजकहरुको एक संस्कार हो । पूजा गरेर रोप्यो भने मात्र मकै फस्टाउँछ, नत्र असिनाले लैजान्छ वा रोग फैलन्छ भन्ने जनविश्वास छ । त्यही कारण गाउँले सबै मिलेर प्राचीन संस्कार अनुसार मकैको बिहे गर्छन् ।
यो परम्परालाई मर्न दिनुहुन्न । यसलाई बचाइराख्न सर्वप्रथमतः स्थानीयबासी त्यसमाथि पनि नयाँ पुस्ता सशक्त हुनुपर्छ । त्यसपछि स्थानीय क्लवहरु, अनि वडा कार्यालय, पालिका कार्यालय जस्ता सरकारी निकायले पनि सकारात्मक रुपमा होस्टेमा हैँसे गर्नुपर्छ ।
मकै विवाह गर्ने दायित्व पालिकाले नै लियो भने यो सदासर्वदा चीरस्थायी हुन्छ ।




