| सोमवार, कार्तिक २३, २०८३

बस्ती र मन्दिर दुवै लाभान्वित हुने गरी पुल बनाऔँ

पृथ्वीराजमार्ग र गोरखा नगरपालिका वडा नम्बर १४ को गोप्लिङफाँट जोड्ने गरी टेण्डर भएको पक्की पुल बस्तीबाट टाढा सारेर निर्माण गर्ने प्रपञ्च गरिएको छ । निर्माण समितिका अध्यक्षले सर्वसहमतिले ऐकिन गरिएको पुल निर्माणस्थललाई विवादमा पार्ने गरी दुईवटा जग्गाको सहमति पत्र पुल विभागमा पेश गरेपछि यो विषय विवादित बन्यो । त्यसै कागजको सिरानी हालेर ठेक्का गरिसकिएको ठाउँबाट हटाएर अर्को ठाउँमा पुल बनाउने षड्यन्त्र गरिएको छ ।

धार्मिकस्थल अकलालाई र गाउँबस्तीलाई लाभान्वित हुने गरी टेण्डर भएको ठाउँमै पुल निर्माण हुनुपर्ने गोरखा नगरपालिका १४ का स्थानीयको माग छ ।

पहिले पुल बनाउने भनेर माटो परीक्षणलगायतका प्रक्रिया भइसकेको थियो तर, अहिले फेरि एकाएक पुल तल सारिएको छ । गोप्लिङफाँट जोड्ने पुल मस्र्याङ्दी जलविद्युत आयोजनाको बाँधमा पर्छ । बाँध भएर पुल बनाउन सबै प्रक्रिया पूरा भइसकेको थियो । ‘मस्र्याङ्दी जलविद्युत आयोजनाबाट पनि अनुमति लिइसकिएको थियो ।

त्यहाँ पुल बनाउँदा कुनै समस्या छैन भनेर आयोजनाले सहमति दिइसकेको थियो । पुल उपभोक्ता समिति गठन भइसकेको थियो । निर्माण ब्यवशायी, पुल योजना सेक्टर नम्बर ४ पोखरासँग पटक पटक छलफल भएर काम सुरु गर्ने निर्णय समेत भएको थियो तर निर्माण कम्पनी पनि जालझेलमा फँसेर पुल निर्माणको काम सुरु गरेन ।

बाँधमुनिको पानी नै नबग्ने ठाउँमा पुल बनाउन ठेकेदारलाई सजिलो हुने भएकाले पनि त्यता बनाउन बल गरिएको हुनसक्छ । तर पुल ठेकेदारलाई होइन, स्थानीयबासीलाई सजिलो हुने गरी बनाउनु पर्छ । अर्कातिर गोरखातर्फ पुलसम्म जोड्ने सडक भएपनि तनहुँतर्फ भने पुल निर्माण गर्ने भनिएको ठाउँसम्म सडक खुलेको छैन । बस्ती छोडेर बस्ती नै नभएको ठाउँमा पुल कुन स्वार्थले बनाउन खोजिएको हो, थाहा छैन ।

तसर्थ, पुल नबन्ने अबस्था पनि नआओस्, बनेको पुल अकला मन्दिर र बस्ती दुवै लाभान्वित हुने गरी होओस् ।

प्रतिक्रिया दिनुहोस्