
लुमाको वितरण व्यापक बनाऔँ
कार्यान्वयन पक्ष जे जस्तो भए पनि कुशल वक्तृता भएका महोदयहरुले प्रविधिमैत्री कृषि प्रणाली भनेर सभा, समारोहमा बोल्ने गर्छन् । हाम्रो नेतृत्वहरु बोल्नमा झै काममा पनि निपूर्ण भइदिएका भए कमसेकम मुलुकले विकासको फड्को अल्लि लामो, अल्लि छिटो मार्ने थियो ।
देशको अबस्था कस्तो बनाउने भन्ने कुरा त्यस मुलुकको शिक्षा नीति, शिक्षा प्रणालीमा निर्भर हुन्छ भनिन्छ । त्यसैले शिक्षा क्षेत्रलाई अति संवेदनशील रुपमा लिनुपर्छ । अनि शिक्षा क्षेत्रमा लगानी बढाउनु पर्छ । तर बिडम्बना कस्तो छ भने, शैक्षिकसत्र सुरु भएको दुई महिना, तीन महिना, चार माहिनासम्म विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको हुदैन ।
यो अवस्थालाई मध्यनजर गर्दै पाठ्यक्रम बिकास केन्द्रले मानक पाठ्यक्रममा आधारित पाठ्यपुस्तकबाट विद्यार्थीलाई पढाउन ‘सिकाई बाकस’(लुमा)को विकास गरी कार्यान्वयनमा ल्याएको छ । शनिबार एक समारोहका वीच पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले लुमा, कम्प्यूटर र प्रोजेक्टर हस्तान्तरण गरे ।
अब विभिन्न कारणले पाठ्यपुस्तक हातहातमा नपुगे पनि लुमाले सहज गराउने भएको छ । सिकाई बासक(लुमा) कम्प्यूटर र प्रोजेक्टर जडित हुन्छ । कक्षा १ देखि १२ सम्म पाठ्यक्रम बिकास केन्द्रले स्वीकृत गरेका पाठ्यक्रममा आधारित हरेक पुस्तक ‘लुमा’ भित्र हुन्छ ।
पुस्तक मात्र होइन, कुन पाठ पढाउँदा मिल्दोजुल्दो अन्य सामग्री के हुन सक्छ त्यो पनि लुमाभित्र हुन्छ । लुमाभित्रका सामग्री अफलाईनबाट पढ्न, पढाउन, हेर्न सकिन्छ ।
पाठ्यक्रम फेरियो र थपघट गर्नुपर्ने भयो, सुधार गर्नुप¥यो भने सिकाई बाकसलाई अनलाईन राखेर इन्टरनेटको माध्यमले जहाँबाट पनि सामग्री परिमार्जन सकिन्छ । विषयबस्तुसँग मिल्दो अडियो, भिडियो सामग्रीहरु पनि त्यहाँ छ, त्यसैले कक्षाकोठामा सहजै प्रयोग गर्न सकिन्छ ।
हाल पाइलट प्रोजेक्टका रुपमा गण्डकी प्रदेशका ३५ वटा विद्यालयलाई यो उपकरण बितरण गरिएको छ । यसलाई देशव्यापी बनाउन सके पठनपाठनमा धेरै सुधार हुने विश्वास लिन सकिन्छ ।




