| सोमवार, कार्तिक २३, २०८३

गोरखाका यसअघिका प्रजिअ बस्नेत बने गृहप्रवक्ता


गोरखामा यसअघि प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरेका जीतेन्द्र बस्तेत गृह मन्त्रालयका प्रवक्ता बनेका छन् । हाल प्रधानमन्त्रीको माताहतमा रहेको गृहमन्त्रालयले बस्नेतलाई गृहप्रबक्ताको कार्यभार प्रदान गरेको हो ।


साथै मन्त्रालयको सबै भन्दा महत्वपुर्ण मानिएको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी पनि जितेन्द्र बस्नेतलाई नै दिइएको छ । यसअघि उनी अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रणको कार्यालयमा कार्यरत थिए । बस्नेत यसअघि गृह मन्त्रालय मातहतकै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक थिए । गृह मन्त्रालयबाट सरुवा भएर प्रदेशमा गएपछि अर्थ मन्त्रालय तानिएका थिए ।

उक्त जिम्मेवारीमा रहेका फणिन्द्रमणि पोखरेललाई आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिएको छ । बस्नेतले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पनि पाएका छन् ।

बस्नेतले यसअघि प्रजिअका रुपमा रहेर २०७४ सालको गोरखाको स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराएका थिए ।

यस्तै, केदारनाथ शर्मालाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । शर्मा भर्खरै मात्र अर्थ मन्त्रालयबाट गृह मन्त्रालय सरुवा भएर आएका सहसचिव हुन् । उक्त महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका गोविन्द रिजाल अहिले मन्त्रालयको अतिरिक्त समूहमा रहेका छन् ।

यस्तै, गृह मन्त्रालय तानिएका रुद्र पण्डितलाई मन्त्रालय मातहतको राष्ट्रिय पञ्जिकरण तथा परिचयपत्र विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, गृह मन्त्रालय भित्रिएका दिनेशसागर भुसाललाई गोरखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । भुसाल यसअघि आन्तरिक मामिला मन्त्रालय कर्णाली प्रदेशको सचिवको जिम्मेवारीमा थिए ।


नयाँ जिम्मेवारी पाउने सहसचिवमध्ये बस्नेत, शर्मा, पण्डित र भुसाल गत सोमबार मात्रै गृह मन्त्रालयमा सरुवा भएर आएका थिए ।

प्रतिक्रिया दिनुहोस्