
घाँटु जगाऔँ, घाँटु बचाऔँ
भनिन्छ, विवेकशील मानव जातिले आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी निर्माण वा रचना गरेका यावत सिर्जना अनुरूपको जीवनशैली नै मानव–संस्कृति हो । मानवले निर्माण वा रचना गरेका सिर्जनाहरू भौतिक र अभौतिक गरी दुई किसिमका हुन्छन् । दुवै किसिमका सिर्जनाहरूलाई संस्कृतिका रूपमा सम्बोधन गर्ने गरिन्छ ।
नेपालसित दुईदेखि अढाइ लाख बर्ष प्राचीन इतिहास छ भन्न पाउँदा आल्हादित महशुस हुन्छ । दाङ्ग उपत्यकामा प्राप्त पूर्वपाषाण औजारहरूले यसको प्रमाणित गरेका छन् ।
आधुनिक मानवसमूदायले पनि आजभन्दा ८÷९ हजार वर्ष पहिले त्यसै क्षेत्रमा बसोबास गरेको कुरा दाङ्गदेउखुरी उपत्यकाबाट प्राप्त मध्यपाषाण औजारहरूले पुष्टि गरेका छन् ।
यति ठूलो गौरव बोकेको नेपाली संस्कार र संस्कृति हामी नेपाली सामु छ । नेपालमा दुईअढाइ लाख वर्षदेखिका सांस्कृितक सम्पदाका अवशेषहरू र १२३ भन्दा बढी जातिका सांस्कृतिक प्रचलनहरू हुनु भनेको राष्ट्रको लागि गौरवको विषय हो । यति विशाल सांस्कृतिक भण्डारको वैज्ञानिक अनुसन्धान, अध्ययन एवं संरक्षण कार्य समय, श्रोत र साधनका दृष्टिले समेत चुनौतीपूर्ण रहेको छ ।
कुनै पनि संस्कृतिका लागि विदेशी वा बाह्य संस्कृतिको प्रभाव अर्को चुनौती बन्ने गरेको छ । आजको विश्वव्यापी विद्यतुीय संचार माध्यमका कारण यस्ता प्रभावलाई न्यूनिकरण गर्नु, नियन्त्रण गर्नु र कुनै संस्कृतिको मौलिक स्वरूपलाई जोगाउनु ठूलो चुनौती हो ।
संस्कृति परिवर्तनशील विषय हो । विभिन्न जातिहरू र समूदायले अपनाइ आएका कतिपय सांस्कृतिक परम्पराहरू आधुनिक र मानववादी दृष्टिकोणबाट हेर्दा सुधार गरिनु पर्ने अवस्थामा देखिन आएका पनि छन् । यस्ता कुराहरूलाई सुधार गर्दा त्यस जाति वा समूदायको परम्परागत संस्कृतिको एउटा पक्ष लोप हुन पनि जान्छ ।
घाँटु जस्ता सांस्कृतिक गीत, नाचहरु लोप हुँदै जानु पनि दुखद पक्ष हो । यसको संरक्षण र जगेर्नाका लागि सर्वपक्षीय पहलको खाँचो छ । किनभने यो हाम्रो पहिचान हो । संस्कृति जोगियो भने हाम्रो पहिचान जोगिन्छ ।




