| सोमवार, कार्तिक २३, २०८३

पुस्तान्तरण नहुँदा घाँटु नाँच संकटमा (फोटो फिचर)

केशव गुरुङ :

गुरुङ समुदायमा प्रसिद्ध साँस्कृतिक लोकनृत्य ‘घाँटु’ पुस्तान्तरण नहुँदा संकटमा परेको छ । परापूर्व कालदेखि चल्दै आएको घाँटु संरक्षण गर्न नयाँ पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो ।

घाँटु गाउनका लागि नयाँ पुस्ता तयार नहुँदा र यसको जगेर्ना गर्न स्थानीयबासी, जनप्रतिनिधि, समाजसेवीहरुले चासो नराख्दा संकटमा परेको धार्चे गाउँपालिका ४ लाप्राकका घाँटु गुरुबा डम्बरसिं गुरुङले बताए । परम्परादेखि चल्दै आएको घाँटु कुनै गाउँघरमा जसोतसो चलेको र कुनै गाउँबस्तीबाट लोप भइसकेको उनले बताए ।

‘घाँटु गाउने, नाच्ने शैलीमा अहिलेसम्म कुनै परिवर्तन आएको छैन’, उनले भने, ‘अहिले हामीहरु तीनचार जनाले गुरुबाबाट गीत सिकिसकेको छौँ । अव नयाँ आउने चेलाहरुलाई हामी सिकाउँछौँ तर हामीभन्दा पछि सिक्ने नयाँ शिष्यहरु कोही पनि आएका छैनन् ।’ विगत २५ वर्षदेखि नै घाँटुको गुरुबा भएर काम गर्दै आएका गुरुले आफुहरु रहेसम्म घाँटु संस्कृति जोगाउने तर नयाँ पुस्ताले यसमा चासो नदिएको र चासो राख्नु पर्नेहरुले वास्ता नगरेको गुनासो उनले गरे ।

‘घाँटुको गुरुबा बन्न कसैलाई हामीले बोलाउन पनि मिल्दैन, जोजसको इच्छा छ, उनीहरुले सिक्ने परम्परा हो,’ उनले भने । नयाँ पुस्ता घाँटुको गुरुबा बन्ने तरिका सिक्न नआउँदा कहि आप्mनो गाउँको पुरानो संस्कार, संस्कृति हराउने पो हो कि भनेर चिन्ता लाग्ने गरेको उनले बताए ।

घाँटु संरक्षणका लागि पुस्तान्तरणसँगै आर्थिक तथा व्यवस्थापन पक्षमा स्थानीय सरकार तथा सबै पक्षले ध्यान दिनुपर्ने सुझाव उनको छ । ‘हामी घाँटु गुरुबाहरु त आउने गीत गाउने मात्रै हो । हाम्रालागि खासै केही खर्च हुँदैन तर, गुरुआमा र सुसारेहरुको व्यवस्थापनका लागि धेरै खर्च हुने गर्छ,’ उनले भने ।

समयसँगै घाँटु नाँच संचालन गर्न आर्थिक स्रोतको अभाव हुन थालेको विगत २० वर्षदेखि सुसारेको काम गर्दै आएकी बिसानी गुरुङले बताइन्् । विधि, प्रक्रिया पु¥याउनका लागि घाँटुमा आवश्यक सामग्रीहरु जुटाउन पहिलेको तुलनामा अहिले खर्च बढि हुने गरेको उनको भनाइ छ । घाँटु संचालनका लागि वडा र पालिकाबाट केही खर्च नपाउने हो भने व्यक्तिगत खर्च गरेर सम्भव नहुने उनले बताइन् ।

लाप्राकमा यसअघि घाँटु व्यवस्थापनका लागि समिति गठन गरेपनि दर्ता नहुँदा अहिले निस्क्रिय भएको पूर्व समितिका कोषाध्यक्ष काम बहादुर गुरुङले बताए । ‘घाँटु नाँचलाई व्यवस्थित रुपमा संचालन गर्ने भनेर केहीवर्ष अघि समिति गठन गरिएको थियो तर कसैबाट पनि सहयोग पाउन सकिएन । अघिल्लो वर्ष मेरो व्यक्तिगत मात्रै ४५ हजार खर्च भयो,’ उनले भने, ‘जिल्लामा दर्ता नभएकाले समिति एक वर्षदेखि नै निस्क्रिय छ । अहिले घाँटु गुरुबा आमाले नै घाँटु नाँच संचालन गरिराखेका छन् ।’ घाँटु संचालनका लागि एक वर्षमा एक लाख भन्दा बढी खर्च हुने गरेको उनको भनाइ छ ।

२०७६ सालमा घाँटु संस्कृति संरक्षणका लागि भन्दै लाप्राकका स्थानीय पर्यटन व्यवसायीहरुले काठमाडौमा आर्थिक स्रोत संकलन अभियान सञ्चालन गरेका थिए । तर सो अभियानले लक्षित उपलब्धी हासिल गर्न नसकेको बताइएको छ । कोभिड तथा आर्थिक मन्दीका कारण योजनागरे अनुसार पैसा संकलन गर्न नसकिएको अभियान संचालक मध्यका एक मुलाल गुरुङले बताए ।

‘हामीले करिब १०÷१५ लाख संकलन गर्ने भनेर अभियान सुरु गरेको थियो तर कोभिड लगायतका कारण अभियान बीचमै रोकियो । कतिपयले दिन्छु भनेर डायरीमा नाम टिपाएकाहरु पनि विभिन्न कारण देखाउदै पैसा दिएन्,’ उनले भने, ‘अभियानबाट १५ लाखसम्म संकलन भएमा उक्त पैसा बैँकमा फिक्स डिपोजिटमा राखेर त्यसबाट आउने व्याजले घाँटु संचालन गर्ने योजना बनाएको थियो ।’

सो अभियानबाट करिब दुई लाख रुपैयाँ जति मात्र संकलन भएको उनले बताए । अभियानबाट संकलन भएको पैसा यसअघि दुई वर्षमा ५०÷५० हजार गरेर दुई पटक गाउँमा पठाइसकेको र बाँकी पैसा काठमाडौँमा रहेको अठारसय खोला सहकारीमा रहेको उनले जानकारी दिए । अव देशको परिस्थिति सामान्य भएमा फेरि अभियान संचालन गर्ने उनले बताए ।

लाप्राकको घाँटु नाँच संस्थागत रुपमा दर्ता प्रक्रियामा रहेको र दर्ता भएपछि वडा आवश्यक बजेट छुटाइने वडा अध्यक्ष किसान गुरुङले बताए । आवश्यक कार्यविधिसहित कानुनी रुपमा घाँटुको समिति दर्ता भएर आएमा वडाबाट आवश्यक बजेट छुटाउन सजिलो हुने उनले बताए ।

गुरुङ समुदायको पहिचान, संस्कृति संरक्षण गर्नु आफनो कर्तव्य भएको पनि उनले बताए । घाँटु नाँचको महत्वका बारेमा जनतालाई बुझाउनुपर्ने जरुरी रहेको र घाँटु गीत लिपिबद्ध गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अध्यक्ष गुरुङले बताए ।

पश्चिमी संस्कृतिको प्रभाव र सरोकारवालाहरुले वेवास्ताका कारण घाँटु संस्कृति लोप हुने अवस्थामा पुगेको उत्तरी गोरखाका संस्कृतिका विज्ञ टेकबहादुर गुरुङले बताए । घाँटुलगायतका संस्कृतिको बोझिला कुराहरुलाई परिमार्जन गरी सजिलो र सहज बनाउँदै जानुपर्ने उनको सुझाव छ ।

उत्तरी गोरखामा सती घाँटु र बाह्रमासे घाँटु रहेकोमा अहिले केही ठाउँमा सती घाँटु मात्र कायम रहेको उनले बताए । उनका अनुसार सिङ्ला, यामगाउँ लगायतका गाउँमा घाँटु नाँच हराइसकेको छ ।

३५ वर्षदेखि घाँटु सुसारेको भूमिकामा खट्दै कुम्नी गुरुङ

घाँटु गुरुङ समुदायमा प्राचीनकालदेखि चल्दै आएको प्रसिद्ध साँस्कृतिक लोक नृत्य हो । घाँटुमा गुरुबा, गुरुआमा र घाँटु नानीहरुलाई ल्याउन, लैजान, नाँचे बेलामा स्याहार गर्न सुसारे पनि हुने गर्दछ ।

लाप्राककी ६६ वर्षीय कुम्नी गुरुङ घाँटुको सुसारेको भूमिका निर्वाह गर्दै आएकी छिन् । उनी सुरुको पाँचवर्ष घाँटु गुरु आमाको रुपमा प्रवेश गरेर काम गरे । त्यसपछि घाँटुको सुसारे भएर काम गर्न थालेको ३५ वर्ष भन्दा धेरै भइसकेको उनले बताइन् ।

सुसारेले घाँटु नानीहरुको हेरचाह गर्ने, उनीहरुलाई देवीदेवता लाँदा बोकेर लैजाने लगायतका कामहरु गर्नुपर्छ । दुइ÷तीन वर्षमा घाँटु नानीहरु नयाँ नयाँ आउने जाने क्रम चलिरहदा सुसारेहरु भने सधै बसिसरहुन पर्ने बाध्यता रहेको उनले बताए ।

‘उमेरले बढुयौली कटिसक्यो अव धेरै हिड्न पनि सकिन्दैन तर घाँटु नानीका बाबुआमाले बोलाएपछि जानै पर्छ, त्यो हाम्रो कर्तव्य पनि हो,’ कुम्नी गुरुङले भनिन् । बिनाज्याला आफनो घरको काम छोडेर वर्ष दिनसम्म यसमा लागिरहनु पर्दा कहिलेकाही दुख लाग्ने गरेको उनले बताइन् ।

त्यस्तै, अर्का स्थानीय ५६ वर्षीय विसानी गुरुङले पनि सुरुमा आठ वर्ष घाँटु गुरु आमाको रुपमा काम गरे । त्यस लगत्तै पछिल्लो २० वर्ष सम्म भने घाँटुको सुसारेको भूमिका निर्वाह गर्दै आइरहेकी छन् । ‘घाँटु आमा, घाँटु बाले घाँटु नानीहरु छोडेर गएपनि हामी सुसारेहरु घाँटु नानी छोडेर कही जान पाउदैन । घाँटु नानीहरुको स्याहार सुसार सबै हामीले नै गर्नुपर्छ,’ उनले भनिन् ।

अहिले लाप्राकमा चार जना घाँटुको सुसारको भूमिका निर्वाह गर्दै आएका छन् भने सात जना घाँटु गुरु आमाको जिम्मेवारी निर्वाह गरिरहेका छन् । घाँटु गुरुआमाहरु चन्ती पुर्णिमामा ठूलो आँगनमा घर बनाउन, मकै विवाहमा डाँडा पुजा गर्दा धेरै खटिनुपर्छ । घाँटु बाहरुलाई रक्सी रोटी, लगायत संस्कारका चालचलन संचालन गर्न धेरै खर्च हुने गर्दछ ।

यसरी सुरु हन्छ घाँटु नाँच

धार्चे गाउँपालिका ४ लाप्राकमा सती घाँटु नाँच्ने गरिन्छ । यहाँ कन्यालाई जिउँदो देवीको रुपमा घाँटु नचाउने गरिन्छ । माघ १ गते घाँटु सुरु भइसकेको अघिल्लो दिन बेलुका ८ बजेदेखि रातभरि गाउँ वरिपरि देवीदेवता मन्दिरमा गएर घाँटु नाँच्ने गरिन्छ ।

बेलुका घाँटु नाच्नुअघि अक्षताले सबै देवीदेवताहरुको पूजा गरेपछि घाँटु नाच्ने कन्याहरूको आँखा बन्द हुने गर्दछ । यसलाई देवी चढेको मानिन्छ । कन्याहरूको आँखा बन्द नभएसम्म देवीहरूको नाम जप्नुपर्छ । देवीले पत्याएपछि घाँटु सुरु गरिन्छ । एउटै देवतामा एकदुई घण्टासम्म घाँटु नाँच्ने गर्दछन् । त्यसको भोलिपल्ट माघ १ गते माघे सक्रान्ति र २ गते नाँचेर वर्षभरीको लागि घाँटु नाँच सुरु हन्छ । घाँटुका गुरु बा वर्षीय डम्बरसिं गुरुङका अनुसार यहाँ तीन÷चार वर्ष देखि सातआठ वर्ष सम्मका कन्याहरु घाँटु नाँच्ने गरिन्छ ।

घाँटु माघे सक्रान्ति, माघे औशी, माघ–फागुनमा हुने मकै विवाहको पुर्व तयारीमा डाँडाको पुजा गर्दा(मकैको बिउ परिक्षण), चैत्र पुर्णिमा, वैशाख पुर्णिमामा र असार पुर्णिमाको गैहु कुष्मान्त मासको दिन घाँटु सेलाई धुराउने काम गरिन्छ र घाँटु नाँचको अन्त्य हुन्छ ।

घाँटु नाँचमा नाचबाटै नर्तकिहरुलाई सुताइन्छ, उठाइन्छ र नचाइन्छ । गीतका प्रत्येक बोल र लयहरु बाजाका तालहरुमा कुनै गडबढी भएमा नाच्नेको जीवन समेत जान सक्ने उनको भनाइ छ । रोगव्याधि नलागोस्, बालिनाली राम्रोसँग फलुन, गाई गोठ राम्रो रहोस भन्ने कामना गर्दै घाँटु नाचिन्छ ।

लाप्राकका कन्याहरु तीन÷चार वर्षदेखि सात आठ वर्षसम्म घाँटु नाँच्ने गर्छन् । ‘घाँटुको नाँच्ने भनेर छान्न मिल्दैन । गाउँमा कसैको बाल बच्चा विरामी भएमा वा रोगी भएमा झाँव्रmीसित हेर्न जाँदा देवता आएछ भनेपछि घाँटुमा लाने गरिन्छ,’ घाँटुका गुरुबा डम्बरसिं गुरुङले भने । विरामी भएको बालबच्चा घाँटुमा नाँच्न राखेपछि राम्रो हुदै जाने उनको भनाइ छ ।

घाँटु गुरुङ संस्कृतिको मुख्य संस्कृति भएको र यदि घाँटु नभएमा गाउँ वरिपरिको देवीदेवताको अस्तित्व नहुने उनले बताए । गाउँ चाडपर्वमा परम्परा देखि पुजिदै आएको गाउँमा विभिन्न स्थानमा रहेको देवीदेवता र घाँटुको सम्मान महत्व रहेको उनले बताए । साउन देखि पुस सम्म घाँटुका सबै गतिविधि बन्द हुने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्