
गण्डकी गाउँपालिकाको हरेक वडामा ५० लाखका ‘गौरव’को योजना
प्राय नगरपालिका तथा गाउँपालिकाले वडालाई बजेटको ‘सिलिङ’ तोक्ने र वडाले मनमौजी रुपमा योजना छनौट गरी बजेट बिनियोजन गर्ने गर्छन् ।
वडा अध्यक्षको तजविजमा ७० लाखदेखि एक करोड ५० लाख सम्मका योजनामा बजेट बिनियोजन हुन्छ । गाउँपालिकाले वडालाई दिएको ‘सिलिङ’ मा बजेट निश्चित गरेपनि योजना भने पालिकाले निर्धारण गरेको मापदण्ड अनुसार छनौट भएको पाईँदैन ।
टुक्रे योजना नबनाउन पालिकाहरुले वडालाई मापदण्ड बनाएर दिएपनि वडाबाट एउटै योजनाभित्र दुई-तीनवटा फरक प्रकृतिका काम समावेश गरेर वडाले पेश पनि गर्छन् । गोरखाको गण्डकी गाउँपालिकाले भने अलिक फरक अभ्यास गरेको छ । यहाँ पालिकाले हरेक वडामा ५०-५० लाखको एक-एक वटा गौरवको योजनामा काम सुरु गरेको छ ।
८ वटा वडा रहेको गण्डकी गाउँपालिकामा हरेक वडालाई पालिकाले एक करोड १० लाखदेखि एक करोड ३५ लाखको सिलिङ दिएको थियो । ‘योमध्ये एउटा योजना कम्तीमा ५० लाखको हुनुपर्छ भनेका थियौँ’, गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले भने, ‘सबै वडामा त्यसरी नै कार्यक्रम बन्यो, अहिले काम सुरु भईसकेको छ ।’
वडा नम्बर १ को मकैसिंङ मुल सडक स्तरोन्नती, २ को दलभञ्ज्याङ कुवापानी हुँदै पातीस्वाँरा हुँदै साँधीखोला नाला र सडक निर्माण, वडा नम्बर ३ को भलायोडाँडा आमडाँडा ठुलोफाँट सडक, ४ को गौरीचौतारादेखि पौवा हुँदै पुरानो गाउँ सडक निर्माणको योजना रहेको छ । सबै वडाले सडकलाई प्राथमिकता दिएका छन् ।

सडकका कारण सर्वसाधारणले सास्ती पाउने भएकाले ग्रामीण सडक स्तरोन्नतिमा वडाले प्राथमिकता दिएको अध्यक्ष तिमिल्सिनाले बताए । वडा नम्बर ५ मा छोरेटार रामपुर सानो दर्बुङ लाङ्घालीचोक सडक, ६ को पल्लोटार गडही देवीस्थान हुँदै कोराक सडक, ७ को जलविरे खोला ज्यामीरेघाट कौदी सडक र ८ को धवादीघाट ८ नम्बर वडा कार्यालय तेर्से कोटगाउँ हुँदै बेनीगाउँ सडक गौरवको योजनाको रुपमा रहेको छ ।
‘गतवर्षको योजना सातसय ३६ वटा थियो’ गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले भने, ‘धेरै योजना हुँदा देखिने गरी काम गर्न नसकिने रहेछ, अहिले योजना घटाएर चालुवर्ष चारसय ८६ मा झारिएको छ ।’ गाउँपालिकाले पनि यसवर्ष आईडाँडाबाट कुलबेसीसम्म चार करोड बिनियोजन गरेको उनले बताए । ‘गाउँपालिकाले पनि गौरवको योजना यसलाई मानेर चार करोड राखेको हो’, उनले भने । तीन दशमलव ८६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी काम भईरहेको उनले बताए ।
‘साना र टुक्रे योजनामा बजेट बिनियोजन गर्दा एकवर्ष कार्यक्रम हुने तर अर्कोवर्ष नदेखिने भयो’ अध्यक्ष तिमिल्सिनाले भने, ‘वडामा बैठक राखेर, स्थानीयलाई ‘कन्भिन्स’ गराएर कम्तिमा ५० लाखको एउटा योजना छनौट गरेका हौँ ।’
८ वडामध्ये वडा नम्बर १, २ र ६ का योजना उपभोक्ता समितिबाट भएका छन् भने बाँकी वडाको टेण्डर भएको उनले बताए । ‘दीगो बिकासको लक्ष्य अनुसार कम्तिमा हरेकवर्ष वडा-वडामा गौरवको योजना संचालन गरौँ भन्ने हो’, उनले भने ।
वडा नम्बर ६ का अध्यक्ष तुलबहादुर गुरुङले योजना छनौट गर्दा वडाबासीलाई गौरवको योजनाको महत्व, छनौट गर्नुपर्ने कारणलगायतका बारेमा बुझाएर छनौट गरिएको बताए । ‘हरेकवर्ष एउटा÷एउटा योजना छनौट हुने, पहिले सुरु भएकालाई निरन्तरता दिने विषयमा छलफल गरेर छनौट गरेका हौँ’, वडा अध्यक्ष गुरुङले भने, ‘त्यति धेरै समस्या भएन, मेरो वडामा अधिकांश योजना तीनलाख भन्दा माथिका छन् ।’




