
प्रगति देखिने शीर्षकमा बजेट बाँडफाँट गर
पालिका प्रमुखहरुको चुनावमा टिकट वितरण गर्दा नयाँ उम्मेद्वार ठिक कि पुरानै उम्मेदवार ठिक ? भन्ने प्रश्न अल्लि धेरै उठेको थियो । नयाँ उम्मेद्वारलाई टिकट दिँदा पुरानाले भन्दा नयाँले नयाँ ढंगले सकारात्मक काम तीब्र गतिमा गर्न सक्छन् भन्ने तर्क गरिन्थ्यो । पुरानालाई टिकट दिँदा यसअघि जुन गतिमा काम भयो, त्यो भन्दा नयाँपन देखिदैन भन्ने तर्क गरिन्थ्यो ।
पुरानालाई टिकट दिँदा यसअघि धेरै ज्ञान आर्जन गरिसकेकाले अब तीब्र रुपमा काम हुन सक्ने विश्लेषण गरिन्थ्यो । नयाँ उम्मेद्वारलाई टिकट दिँदा उनलाई ज्ञान आर्जन गर्न अर्को थप दुई चार बर्ष लाग्न सक्ने हुँदा प्रगतिको कामले गति पाउँदैन भन्ने पनि तर्क गर्ने गरिन्थ्यो । पुरानालाई टिकट दियो भने उनले यसअघि पाँच बर्षको अभ्यासले नयाँ कार्यकालमा पुरानो कार्यकालको ज्ञानको प्रयोग गर्दै नयाँ जोश र जाँगरका साथ काम हुनसक्छ भन्ने तर्क गरिन्थ्यो ।
यी दुवै तर्क आ–आफ्ना ठाउँमा प्रभावशाली नै छन् ।
सहिद लखन गाउँपालिकामा अघिल्लो कार्यकाल पाँचबर्ष काम गरिसकेका अध्यक्ष रमेश थापा छन् । उनको अघिल्लो कार्यकाल पनि जिल्लाको उत्कृष्ठताको अग्रस्थानमा थियो । सो अनुभव र अभ्यासका कारण उनको दोस्रो कार्यकाल अपार सफल रहने सम्भावना देखिन्छ ।
सहिद लखनमा उनले प्रगति देखिने खालका ठूला योजना सुरु गरेका छन् । अहिले पालिकाले नाम्जुङ–घैरुङ–मनकामना–ढाँडबारी–रामशाहघाट आँबुखैरेनी सडकको तीन किलोमिटर खण्ड स्तरोन्नति गर्न थालेको छ । नाम्जुङसम्म प्रदेश सरकारले कालोपत्रे गरेको थियो । अब त्यहाँबाट तीन किलोमिटर पालिकाले कालोपत्रे गरेपछि पालिकाको केन्द्रसम्म कालोपत्रे हुनेछ ।
त्यसपछि बर्षेनी बिनियोजित बजेटले सो सडकको बाँकी खण्डहरु पनि कालोपत्रे हुनेछ । टुक्रे योजनामा सानातिना काम मात्र गर्दा बजेट खर्चचाहिँ भइरहने, विकासको कामचाहिँ नदेखिने हुने अबस्था थियो । त्यसलाई कटौती गरी देखिने खालका कार्यक्रम गर्ने परम्परा सहिद लखन गाउँपालिकाले बसालेको छ । यो सकारात्मक छ ।




