
फुटबलको विकास गर्न होस्टेमा हैँसे गरौँ
भनिन्छ, एक थुकी सुकी, सय थुकी नदी । कुनै पनि काम गर्न कसै न कसैले होस्टे गर्नुपर्छ अनि अरुले हैँसे गर्नुपर्छ ।
खेलकुदको क्षेत्रमा पनि यो सामाजिक नियम लागु भइहाल्छ । विभिन्न जिल्लाहरुमा विभिन्न खेलकुदको प्रवद्र्धन गर्न विभिन्न क्लवहरुले योगदान गर्ने गर्छन् । गोरखामा पनि फुटबलको विकास गर्न एन्फा, हरमटारी क्लव, द ओसन क्लव लगायतले काँध हालेको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा) गोरखाको त मुख्य काम नै फुटबलको अभ्यास गराउने, प्रतियोगिता गराउने हो । फुटबलकै विकास गर्ने अर्को सशक्त द ओसन क्लवले पनि जिल्लामा फुटबलको विकास गर्न भरमक्दुर प्रयास गरिरहेको छ ।
गोनपा ९ मा आफ्नै आर्टिफिसियर टर्फवाला खेलमैदान निर्माण गरेर फुटबलको विकासका लागि खटिइरहेको छ ।
यी विभिन्न क्लवहरुले गोरखामा फुटबल खेलको विकासका लागि योदान दिइरहेका छन् ।
आउँदो फागुन ७ गतेदेखि हरमटारी क्लवले फुटबल प्रतियोगिता गर्दैछ । बिगत २०७० देखि क्लवले हरेक बर्ष गोर्खाली कप नाम दिएर फुटबल प्रतियोगिता गराउँदै आएको छ ।
हरमटारी क्लवले गराउने गोर्खाली कप जिल्लाका अन्य प्रतियोगिता भन्दा सबैभन्दा धेरै पुरस्कार राशी भएको प्रतियोगिता हो । यस क्लवले यसपटकको गोर्खाली कपका विजेतालाई दुई लाख २२ हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।
साथै सो क्लवले यसपटक महिला फुटबल खेलाडीलाई पनि मैदानमा उतार्ने भएको छ । महिलालाई पनि फुटबलतिर आकर्षित गर्न क्लवले महिलाहरु बीच प्रतियोगिता गराउने, नसके मैत्रीपूर्ण खेल गराउने भएको छ ।
विभिन्न आयामबाट विभिन्न क्लवहरुले फुटबलको विकास गर्न गरेका गतिविधिहरु प्रसंसनीय छ । कुनै पनि क्षेत्रको विकास गर्न कुनै न कुनैले योगदान दिनै पर्छ । फुटबलको विकास गर्न यी क्लवहरुले गरेको कामको प्रशंसा नगरिरहन सकिन्न ।
यस्ता कामहरुमा होस्टेमा हैंसे गर्नु सबैको दायित्व हो ।




