
प्रदेश सांसद सहितको टोली आगलागी भएको पुंगजी गुम्बा पुगे, ३० करोड भन्दाबढि क्षती
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका २ मा रहेको पुंगजी गुम्बामा आगलागीबाट भएको क्षती र त्यहाँको अवस्था बुझ्न त्यस क्षेत्रबाट निर्वाचित प्रदेश सांसद नन्दप्रसाद न्यौपाने सहितको टोली त्यहाँ पुगेको छ ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, प्रहरी प्रमुख एसपी केदार खनाल सहितको टोली हेलिकप्टरबाट आगलागीपछि गुम्बाको अवस्था बुझ्न त्यहाँ पुगेका हुन् । सयौँ वर्ष पुरानो गुम्बा आगलागीबाट करोडौँको क्षती भएको स्थानीयले बताएका छन् ।
गुम्बामा जडान गरिएकाले सोलार सर्ट भएर आगलागी भएको स्थानीयलाई उदृत गर्दै गुम्बा पुगेका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । गुम्बा भित्र रहेका पुरातात्विक सम्पदा, पुस्तकहरु, मुर्तीहरु जलेर नष्ट भएको उनले बताए ।

आगलागी भएको गुम्बा हेरेर फर्किएपछि प्रदेश सांसद न्यौपानेले भने ‘त्यहाँका स्थानीयको आस्थाको धरोहर गुम्बा आगलागीले स्थानीय चिन्तित छन, मैले मेरो तर्फबाट के गर्नु सक्छु त्यो पहल गर्छु भनेर आएको छु ।’ गुम्बामा आगलागी हुँदा करोडौँको क्षती भएको र साथै स्थानीलाई मानसिक रुपमा पनि ठुलो क्षती पुगेको उनले बताए ।
‘तिब्बतसँग सिमाना जोडिएको पालिकाको ठाउँ हो त्यो, त्यहाँ अहिले सम्म सडक पुगेको छैन, गुम्बा भएको ठाउँमा फोनपनि सहज पहुँच छैन’ उनले भने ‘मंगलवार आगलागी भएको कुरा थाहा भयो, के कति क्षती भयो, स्थानीयको अवस्था के छ भन्ने कुनै सुचना नभएपछि बुधवार आफैँ गएको हुँ ।’
गुम्बा जलेर ध्वस्त भएपछि स्थानीय भावविह्ल भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । ‘३० करोड भन्दाबढिको क्षती भएको स्थानीयले भन्नुभएको छ’ उनले भने ‘त्यहाँको ऐतिहासिक, धार्मीक पुस्तक, मूर्ती, बिभिन्न सामग्री बहुमुल्य रहेछन् ।’ प्रहरी मुचुल्का आउन बाँकी रहेको उनले बताए ।
प्रहरी प्रमुख एसपी केदार खनालले गुम्बाको क्षतीको बिवरण प्रहरीले शंकलन गरिरहेको बताए । साथै स्थानीयले आगो निभाएकै कारण अन्य क्षती भने जोगिएको बताए ।

सोलार सर्ट भएर आगलागी भएको स्थानीयले बताएका छन् । मंगलवार एक्कासी गुम्बामा आगलागी हुँदा स्थानीयले निभाउन प्रयास गरेपछि तत्काल आगो निभाउन नसकेको वडा सदस्य छिरिङ छिम्बलले बताए । ‘तीन, चार घण्टापछि मात्रै आगो निभाउन सकियो, हामीले पानी हालेर आगो निभाएको हो’ उनले भने ‘त्यतीबेला सम्म धेरै क्षती भईसकेको थियो ।’
यो गुम्बा नुब्री क्षेत्रकै प्राचीनमध्यको एक मानिन्छ । माने घुम्न ल्हो, स्यो, ल्ही गाउँका ज्येष्ठ नागरिकहरु गुम्बामा आवासीय रुपमा बस्छन् । अरु धेरै भिक्षु पनि त्यहाँ बस्छन् ।




