
गण्डकी गाउँपालिकाका व्यवसायिक किसानलाई प्रोत्साहन गर
गण्डकी गाउँपालिकाको पृथ्वीराजमार्ग करिडोरमा पर्ने गाउँबस्तीका किसानहरु अहिले व्यवसायिक तरकारी खेतीमा आकर्षित छन् । मुख्य खेतीको सिजनपछि सोही जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेर किसानहरुले राम्रोसित जीविकोपार्जन गर्ने गरेका छन् ।
कतिपय किसानहरु निर्वाहमुखी खेती प्रणालीमा छन्, जसले जीवन निर्वाहका लागि मात्र छ्यासमिस खालका कृषि उत्पादन गरेका छन् । यसले जीवन गुजार्न मद्दत गर्ने बाहेक कुनै प्रभावशाली आर्थिक उन्नति हुदैन ।
तर विशेषगरी गण्डकी गाउँपालिकाको वडा नं. २, ६, ७ र ८ का किसानहरु ठूलो परिमाणमा तरकारी उत्पादनमा लागेका छन् । उनीहरु स्थानीय बजारमा मात्र तरकारी खपत गर्दैनन्, काठमाडौँको कालीमाटी थोक तरकारी बजारसम्म तरकारी पु¥याउँछन् ।
सिजनअनुसार काँक्रो, घिरौँला, भिँडी, गोलभेँडा, बोडी, सिमी, मुला, काउली, बन्दा आदि तरकारी उत्पादन गरेर उनीहरु राजमार्गमा पु¥याउँछन् । त्यहाँ राजधानीदेखिका काँटावालाहरु आउँछन् र तरकारी किनेर लैजान्छन् ।
यसअघि धान, मकै, गहुँ, कोदो मात्र उव्जाएर निर्वाह गर्दै आएका यहाँका किसान अहिले मौसमी, बेमौसमी तरकारी खेती गरी सिजनकै चार, पाँच लाख रुपैयाँसम्म आर्जन गर्न सक्षम भएका छन् । अहिले उनीहरु काँक्रो, गोलभेँडाको बिउ जमाउनमा व्यस्त छन् । अब चैत, वैशाखतिर हराभर काक्रो, गोलभेँडा उत्पादन गरी आम्दानी गर्न थाल्छन् ।
उनीहरुको यो कामलाई सम्मान गर्नुपर्छ । साथै अन्य भेगका किसानलाई यस ठाउँको अनुगमन भ्रमण गराई यस्तै खालको पेशा गर्न प्रेरित गर्नुपर्छ जसले अरुलाई पनि देखासिकी गर्न प्रेरणा मिलोस् ।
साथै स्थानीय, प्रदेश वा संघ तीनै तहका सरकारले यसरी व्यवसायिक रुपमा खेतीपाती गर्ने किसानलाई थप जोश, जाँगर, हौसला, प्रेरणा मिल्ने खालका कार्यक्रम लागु गरे वेस हुने थियो ।




