| सोमवार, कार्तिक २३, २०८३

रगत संकलनको क्षेत्रमा रेडक्रसको योगदान

रेडक्रस, स्काउट, लायन्स(लियो) क्लव, रोटरी(रोट्रयाक्ट, इन्ट्रयाक्ट) क्लव, जेसिज जस्ता कतिपय यस्ता सामाजिक संस्था छन्, जुन संस्थामा कार्यसमिति वा साधारण सदस्यको मात्र नभै सबैको अपनत्व हुन्छ । विशुद्ध सामाजिक काम गर्न, विशुद्ध परोपकारी काम गर्न यस्ता संस्था जन्मेका हुन्छन् । यद्यपि अरु गैरसरकारी संस्थाहरुले पनि गैह्रनाफामुलक सामाजिक संस्था भनेर दाबी गर्ने गर्छन् । उनीहरुको दावी आफ्नो ठाउँमा सम्मानयोग्य नै हुन्छन् ।

विपतमा सेवामा खटिने काम गर्ने भनेर चिनिने रेडक्रस, स्वयंसेवकका रुपमा खटिने भनेर चिनिने स्काउट, परोपकारी सामाजिक काम गर्ने भनेर चिनिने रोटरी, लायन्स क्लवहरुले पनि कतिपय अवस्थामा विवादित काम भने गर्ने गरेका छन् । नेतृत्वमा रहेकाको कार्यशैलीका कारण आक्कलझुक्कल हुने कमजोरीका कुरा नगर्ने हो भने यस्ता सामाजिक परोपकारी संस्थाले मानव मात्रको हितका लागि काम गरिरहेका हुन्छन् ।

पोलियो उन्मुलनमा काम गरेर रोटरी क्लवले, आँखा उपचारका क्षेत्रमा काम गरेर लायन्स क्लवले प्रसंसा कमाए झैँ पछिल्लो समयमा गोरखामा विशेषगरी रक्त संकलन केन्द्र स्थापना गरेर रेडक्रस सोसाइटीले धेरै प्रसंसा कमाएको छ । यद्यपि बाढी, पहिरो, आँधीबेहरी, भूकम्प, आगालागीका समयमा पनि रेडक्रसले उद्धार, राहत, पुनस्थापना, पुनर्लाभका काम गरेर मानव मात्रको हितका लागि काम गरेको छ ।

यसै बर्ष मात्र रक्त संचार केन्द्र स्थापना गरी निरन्तर केन्द्रमा रगत संकलनको काम गरेर नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले अतुलनीय योगदान दिएको छ । जसका कारण रगत अभावले अकालमै ज्यान गुमाउनु पर्ने अबस्थामा कमी पक्कै आउने छ । बेलामा रगत दिन नसकेर अमूक व्यक्तिको मृत्यू भयो भनेर मृतकका आफन्तजनले गुनासो गर्ने ठाउँ रेडक्रसले दिएन, यद्यपि मृत्यू अवश्यम्भावी छ ।

रक्त सञ्चारका क्षेत्रमा काम गर्दा रेडक्रसलाई आर्थिक रुपमा कठिनाइ भएको हुनसक्छ तैपनि विचलित नभै आम सर्वसाधारणको हितका लागि काम गर्ने नै छ भन्ने विश्वास लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्