
महिला र उद्यमशीलता

पृष्ठभूमि
सामान्यतया कुनै व्यवसाय सञ्चालन गर्ने व्यक्ति उद्यमी हो भने उद्यमीले व्यवसायसँग सम्बन्धित भएर गर्ने हरेक काम वा चाल्ने कदम नै उद्यमशीलता हो । उद्यमीले व्यवसाय सञ्चालनका अवसरहरू खोजी गरी आफ्नो व्यवसायलाई अब्बल बनाउन निरन्तर सिर्जनात्मक कार्यहरू गरिरहनुपर्दछ । यसरी हेर्दा व्यवसायमा सिर्जनशील हुने कार्य नै उद्यमशीलता हो । उद्यमशीलताले जनतासँग रहेको निष्कृय बचत परिचालन गरेर पूँजी निर्माणमा वृद्धि गर्ने भएकाले आजको औद्योगिक युगमा उद्यमशीलताको विशेष महत्त्व रहेको देखिन्छ तर आज उद्यमशील हुन सजिलो भने छैन ।
आर्थिक अभाव, उपर्युक्त सिपको अभाव, लगानी डुब्ने खतरा, वैदेशिक रोजगारीको मोह, झन्झटिलो व्यवसाय दर्ता प्रक्रिया आदि जस्ता पक्षहरूले नेपालमा उद्यमशीलताको लागि समस्याहरू ल्याइरहेको पाइन्छ । त्यसमाथि पनि उद्यमशीलतामा महिला सहभागिता अझ जटिल रहेको देखिन्छ ।
नेपालमा उद्यमशीलतामा महिला सहभागिता बढाउने महिला मैत्री नीतिनियम पनि छन् र विगतको तुलनामा महिला उद्यमीको सङ्ख्या बढेको पनि देखिन्छ तर पनि महिलाहरू उद्यमशील हुनु भन्दा धेरै निश्चित व्यवसायको प्रोपाइटरमा सिमित भएको देखिन्छ । यसै सन्दर्भमा प्रस्तुत लेखमा गोरखा जिल्लामा महिला उद्यमशीलता, महिला उद्यमीका समस्या एवं चुनौती र महिला उद्यमशीलतामा देखिएका चुनौती व्यवस्थापन गर्ने उपायहरूको उल्लेख गरिएको छ ।
गोरखा जिल्लामा महिला उद्यमशीलता
गण्डकी प्रदेशको ११ जिल्ला मध्ये ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय दृष्टिले असाध्यै महत्त्वपूर्ण जिल्ला गोरखा जिल्लामा उद्यमशीलताको पनि प्रचुर सम्भावना रहेको छ । घरबुना कपडादेखि कृषि, पर्यटन जस्ता क्षेत्रमा उद्याशीलताको प्रशस्त सम्भावनाहरू भए तापनि गोरखा जिल्ला समग्रमा उद्यमशीलताको क्षेत्रमा अगाडि बढ्न सकेको भने देखिँदैन । त्यसमाथि पनि महिला र उद्यमशीलता बिच उचित तालमेल बन्न सकेको छैन ।
विषेशगरी माथिल्ला भेगतिर आपूmले जानेका सिपरूलाई व्यवसायीकरण नगरीकन केवल निर्वाहमुखी परिवेशको रूपमा मात्र स्वीकार गर्नाले महिलाहरू उद्यमी बन्न सकेका छैनन् । अर्कोतर्फ भौगोलिक विकटता तथा प्रतिभा पलायनको उच्च मार खपिरहेको यस जिल्लाले आफ्नो जिल्लाभित्रको पर्यटन व्यवसायलाई पनि फस्टाउन सकेको छैन । जिल्लाको माथिल्लो भेगतिर पुस्तान्तरण भएको पुख्र्यौली पेसालाई व्यवसायीकरण गर्न नसक्नु तथा पर्यटन व्यवसायको संभावनालाई उद्यमशीलतासँग उचित तालमेल मिलाउन नसक्नाले गोरखाको उद्यमशीलता पछाडी नै पर्न गएको देखिन्छ ।
वर्तमान समयमा जिल्लाभित्र पुख्र्यौली पेसा अपनाएर तथा गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति, महिला उद्यमी संघ नेपाल गोरखा, जस्ता संस्थाले प्रदेश एवम् स्थानीय सरकारको आर्थिक सहयोगमा सञ्चालन गर्ने तालिमहरूबाट महिलाहरूले सिप सिक्ने प्रशस्त अवसरहरू प्राप्त गरेका छन् । त्यस्तैगरी जिल्लाभित्र रहेका सरकारी तथा गैरसकारी संस्थाहरूले सञ्चालन गर्ने तालिमहरूको कारणले पनि महिलाहरूले सिप सिक्ने गरेका छन् । तर महिलाहरूले आफूले सिकेको सिप र बजार संभावना बिच उचित तालमेल मिलाउन नसक्दा गोरखा जिल्लामा उद्यमशीलता र महिलाबिच खासै नजिकको नाता रहन गएको देखिँदैन ।
कर दाता सेवा कार्यालय गोरखामा दर्ता भएका उद्यम व्यवसायको दर्ता भएको मिति र प्रोपाइटरको नामलाई आधार बनाएर हेर्दा विगतको वर्षहख्को तुलनामा गोरखा जिल्लामा महिला उद्यमीहरूको सङ्ख्या बढेको देखिन्छ । यहाँ आ.व. २०७८÷०७९ मा कर दाता सेवा कार्यालयमा दर्ता भएको एकल फर्मको चर्चा गरिएको छ ।
क्र.सं. मिति महिला दर्ता सङ्ख्या महिला दर्ता सङ््ख्या (प्रतिशतमा) जम्मा दर्ता सङ्ख्या
१, २०७८ साउन १११ ६०.६५ १८३
२, भदौं ११३ ६०.१० १८८
३, असोज १४८ ६०.१६ २४६
४, कार्तिक ८८ ६१.११ १४४
५, मंसिर १०२ ५९.६४ १७१
६, पौष ६४ ५७.६५ १११
७, माघ ५३ ५०.४७ १०५
८, फागुन ७२ ६३.१५ ११४
९, चैत्र ४६ ५१.६८ ८९
१०, २०७९ बैशाख २९ ६०.४१ ४८
११, जेष्ठ १८ ५४.५४ ३३
१२, असार १९ ५२.७७ ३६
स्रोतः कर दाता सेवा कार्यालय गोरखा
गोरखा जिल्लाको आ.व. २०७८÷०७९ मा दर्ता भएको एकल व्यवसायलाई विश्लेषण गर्दा जम्मा दर्ता सङ्ख्यामध्ये औसतमा ५७.६९ प्रतिशत व्यवसाय महिलाको नाममा दर्ता भएको देखिन्छ । यस तथ्याङ्कलाई आधार मानेर हेर्दा जिल्लामा महिला उद्यमी व्यवसायीहरूको सङ्ख्या तुलनात्मक रूपमा उच्च देखिन्छ ।
त्यस्तैगरी दर्ता व्यवसायलाई नै आधार बनाउँदा अधिकांश महिलाहरूको नाममा उद्योग नभई व्यवसाय मात्र रहेको देखिन्छ । त्यसमा पनि होटल, व्युटिपार्लर, सिलाईबुनाइ, कृषि जस्ता क्षेत्रमा मात्र महिलाहरूको बाहुल्यता रहेको दखिन्छ । यसरी हेर्दा सरकारले महिला उद्यमीहरूका लागि ल्याएको विशेष व्यवस्थाहरूले गर्दा नै गोरखा जिल्लामा पनि महिला उद्यमीहरूको सङ्ख्या बढेको अनुमान गर्न सकिन्छ ।
जिल्लाको वर्तमान परिवेशमा महिला उद्यमीहरूको सङ्ख्या बढेकोमा उत्साहित हुन सकिन्छ । तर महिला उद्यमीको सङ्ख्या बढे पनि निश्चित व्यवसायको प्रोपाइटरको नाममा मात्र सिमित हुने महिलाहरूको सङ्ख्या धेरै रहन गएको हुनाले महिला उद्यमीको सङ्ख्या बढ्दा उत्साहित भए पनि सन्तुष्ट हुन सक्ने स्थिति भने छैन । त्यस्तैगरी एकल व्यवसायको जम्मा दर्ता सङ्ख्या हेर्दा आ.व २०७८÷०७९ को अन्त्यतिर घट्न गएको देखिन्छ ।
नेपालको अर्थतन्त्र संरचनात्मक ढङ्गले नै सङ्कटोन्मुख भइरहेको वर्तमान समयमा आर्थिक सूचाङ्कहरू ओरालो लागिरहेको कारणले पनि दर्ता सङ्ख्या कम हुन गएको अनुमान गर्न सकिन्छ । यस्तो विषम परिस्थितिमा सरकारले ल्याएको विशेष व्यवस्थाहरूमा टेकेर जनसङ्ख्याका हिसाबले नै धेरै सङ्ख्या रहेको महिलाहरूलाई उद्यमशीलतातर्फ अगाडि बढाउन सकेको खण्डमा पक्कै पनि गोरखा जिल्ला साथै राष्ट्रले नै आर्थिक प्रगती गर्न सक्ने सम्भावना अधिक देखिन्छ । त्यस्तैगरी रेमिट्यान्समार्फत भित्रिएको रकमलाई उत्पादनशील क्षेत्रमा लगाई रेमिट्यान्सको सही उपयोगका लागि पनि महिला उद्यमशीलता जरुरी छ ।
महिला उद्यमीका समस्या
उद्यमी भएकै कारणले झेल्नुपर्ने समस्याहरूको अलावा महिलाहरूले महिला भएकै कारणले गर्दा झेल्नुपर्ने अन्य विभिन्न समस्याहरू पनि रहेका छन् यसले गर्दा महिला उद्यमीहरूलाई सहज भने छैन । नेपालको वर्तमान सन्दर्भमा वित्तीय स्रोतमाथिको सहज पहँुच नहुनु, शैक्षिक अवस्था कमजोर रहनु, जोखिम मोल्न डराउनु, समय व्यवस्थापन गर्न गाह्रो हुनु, आफ्नो अधिकारप्रति पूर्ण रूपमा सचेत नहुनु, आफ्नो क्षमता पहिचान गर्न नसक्नु आदि कारणहरूले गर्दा महिला उद्यमशीलतामा समस्याहरू आएको देखिन्छ ।
हुन त नेपाल सरकारले महिला उद्यमीहरूका लागि औद्योगिक व्यवसाय ऐनमार्फत कर छुट, विनाधितो सरल व्याजदरको व्यवस्थालगायत अन्य सहुलियतहरू प्रदान गर्ने व्यवस्था ल्याएको छ तर पनि वास्तविक रूपमा उद्यम व्यवसायतर्फ लाग्दै गर्दा महिलाहरूले विभिन्न समस्याहरू ब्यहोर्नु परेको देखिन्छ । त्यस्तैगरी अझैसम्म पनि केही महिलाहरूमा श्रीमानको कमाइमा नै बाँच्ने हो भन्ने छाप रहिरहनाले पनि महिलाहरूले आफ्नो सिर्जनशील क्षमताको पहिचान गर्न सकेका छैनन् ।
जसरी आर्थिक समृद्धिका लागि उद्यमशीलता र उद्यमशीलताका लागि ज्ञान, सिप, पूँजीमा पँहुच आवश्यक हुन्छ ठीक त्यसैगरी उद्यमशीलतामा महिला सहभागिता पनि आवश्यक हुन्छ । त्यस्तै जबसम्म आधा आकाश ढाकेका महिलाहरूले उद्यम व्यवसायमा सहभागिता जनाउँदैनन् तबसम्म देशको आर्थिक विकास सोचे अनुरूप हुन सक्दैन ।
महिला उद्यमशीलताको चुनौती
उद्यमीले बजारको चुनौतीहरूलाई अवसरमा परिणत गर्नका लागि गर्ने सिर्जनात्मक प्रयासहरू नै उद्यमशीलता भएकाले गोरखा जिल्लाको समग्र आर्थिक क्षेत्रमा उन्नती गर्नका लागि महिला र उद्यमशीलता बिचको सम्बन्ध प्रगाढ बनाउनु जरुरी छ तर महिला उद्यमीहरूले विभिन्न समस्याहरूको सामना गरिरहनु परेकोले महिलाहरू या त उद्यम व्यवसायबाट टाढा या त प्रोपाइटरको नाममा मात्र सिमित भइरहेको देखिन्छ । समग्रमा जिल्लाभित्र छरिएर रहेका महिला उद्यमी तथा उद्यम गर्न चाहने महिलाहरूले सामना गर्नु परेका चुनौतीहरूलाई पहिचान गरी समयमा नै समाधानका उपायहरू खोजी गर्नु आवश्यक छ
महिला उद्यमीका चुनौतीहरू यसप्रकार देखिन्छ L
– वित्तीय क्षेत्रमा पँहुच कम हुनु,
– सहुलियत दरमा विना धितो ऋण प्राप्त गर्ने प्रावधान भए तापनि प्रक्रिया झन्झटिलो हुनु,
– उत्पादन लागत बढी हुँदा आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु,
– समय व्यवस्थापन गर्न गाह्रो हुनु
–पारिवारिक जिम्मेवारीलाई बढी प्राथमिकतामा राख्नाले उद्यमशीलताको क्षेत्र प्रभावित हुन पुग्नु,
– घरपरिवारका पुरुष सदस्यहरू (बुवा, श्रीमान, दाजुभाई आदि) ले पूर्ण रुपमा प्रोत्साहन गर्न नसक्नु
–आफूले जानेको सिपलाई व्यवसायिकरण गर्न नसक्नु,
– सूचना प्रविधिको क्षेत्रमा कमजोर रहनु आदि ।
महिला उद्यमशीलतामा देखिएका चुनौती व्यवस्थापन गर्ने उपायहरू
सामान्यतया महिलाहरूमा उद्यमशीलता लागि अति आवश्यक गुण सिर्जनशील क्षमता रहन्छ । हुन त गोरखा जिल्लामा विगतको तुलनामा महिला उद्यमी सङ्ख्यात्मक र गुणात्मक हिसाबले निरन्तर अगाडि बढीरहेको छ यसले वास्तवमा नै सकारात्मक अनभुति गराउँछ तर पनि महिला र उद्यमशीलताको अवस्था सन्तोषजनक भने छैन । महिला उद्यमीहरूका लागि सरकारले ल्याएका विशेष व्यवस्थाहरू प्िरक्रयाको हिसाबले तुलनात्मक रूपमा झन्झटिला छन् । त्यस्ता व्यवस्थाहरू नीतिगत रूपमा नै सुधार गर्नु जरुरी छ । यहाँ चाँहि समाजको सबैभन्दा तल्लो तह तथा व्यक्तिको सोचमा आउनुपर्ने परिवर्तनहरूको चर्चा गरिएको छ, यसले वास्तममा नै महिला र उद्यमशीलताबिचको सम्बन्ध प्रगाढ बनाउन सकिन्छ, जस्तै ः
ड्ड व्यवसायको प्रोपाइटरको नाममा मात्र सिमित नरहेर महिलाले आफ्नो क्षमता पहिचान गरी सिप सिकेर उद्यम व्यवसायतर्फ लाग्नुपर्दछ ।
– घर परिवार सन्तानसहित उद्यम व्यवसायका लागि उचित ढङ्गबाट समय व्यवस्थापन गर्नु जरुरी छ ।
– घरपरिवारका पुरुष सदस्यहरूबाट प्रेरणा प्रदान गर्नु आवश्यक छ ।
– आफूसँग भएको सिपलाई बजार क्षेत्रको सम्भावनासँग जोडेर अगाडी बढ्नुपर्दछ ।
– खेर गइरहेको आफ्नो व्यक्तिगत समय र बजार क्षेत्रको सम्भावनाबिच तालमेल मिलाइ समयको सदुपयोग गर्नुपर्दछ ।
– महिलाहरू सिलाइबुनाइ, व्युटिपार्लर, हस्तकला तथा सानो व्यवसायको क्षेत्रमा मात्र सिमित नभएर अन्य सेवा प्रदायक संस्था, निर्माण क्षेत्र, कम्प्युटरलगायतका क्षेत्रमा अगाडि बढ्नु जरुरी हुन्छ आदि ।
निष्कर्ष
विश्वमै लघुवित्तका अगुवा अर्थशास्त्री डा. मोहम्मद युनुसले आफ्नो पुस्तक ‘दि वल्र्ड अफ थ्रि जेरोज’ मा “प्रत्येक मानिस जन्मजातै उद्यमी हुन्छन्, कसैले आफ्नो क्षमता देखाउने अवसर पाउँछन् भने कसैले पाँउदैनन्, कतिपय त आफूभित्र त्यो क्षमता छ भन्नेसमेत बुझ्न पाँउदैनन्” भनेर लेखेका छन् जबसम्म स्रोतसाधनमाथि सहज पहँुच हँुदैन, उपयुक्त वातावरण र घरपरिवार समाज तथा राष्ट्रबाट प्रोत्साहन हँुदैन तबसम्म मानिसले आफूभित्रको क्षमता पनि पहिचान गर्न सक्दैन । त्यसैले आर्थिक समृद्धिसँग अन्योन्याश्रित सम्बन्ध राख्ने उद्यमशीलतालाई अगाडि बढाउन समयमा नै आ–आफ्नो तहबाट अवसरको खोजी तथा प्रदान गर्नु जरुरी छ ।
त्यसमाथि पनि वर्तमान समयको लैङ्गिक अनुपात, रेमिट्यान्सको प्रवाह र नयाँ पुस्ताको क्षमता तथा जोसलाई आधार बनाएर हेर्दा उद्यमशीलतामा महिला सहभागिता अपरिहार्य हुन आएको देखिन्छ । अन्त्यमा महिला र उद्यमशीलताबिचको सम्बन्ध, समस्या एवं चुनौती र समाधानका उपायहरूबारे यस लेखमा जे जसरी चर्चा गरिए तापनि महिला उद्यमीहरूको सङ्ख्या बढ्नु आफैंमा सकारात्मक पक्ष हो भने आगामी दिनहरूमा सङ्ख्यात्मक र गुणात्मक रूपमा नै सङ्ख्या थप हुने सम्भावना पनि हरेकका लागि अब्बल अनभूति हुनेछ ।




