
गोरखा बजारलाई ‘सम्पदा बस्ती’ को सुनौलो अवसर
गोरखालाई विश्व सम्पदा सूचीमा प्रस्ताब गरिएको लामो समय भयो । स्थानीय स्तरमा वातावरण नबन्दा प्रस्ताबलाई गहकिलो रुपमा अघि बढाइएको छैन ।
सम्पदा वस्ती भनेको के हो ? सम्पदा बस्ती हुनका लागि के के पूर्वाधार तयार हुनुपर्छ ? सम्पदा बस्ती भयो भने के हुन्छ ? सम्पदा बस्ती भएन भने के के अवसरहरु छुट्छन् ? सम्पदा बस्तीका लागि तयार हुँदा कुन–कुन कुरामा लाभ हुन्छ ? सम्पदा बस्ती बनाउन स्थानीयबासीलाई क–कसले सघाउँछन् ? सम्पदा बस्तीले प्राप्त गर्ने अवसरहरु के के हुन् ? सम्पदा बस्ती हुँदा के के चुनौतिको सामना गर्नुपर्छ ? सम्पदा बस्ती निर्माणका लागि कठिनाइ के के हुन्छन् ? सम्पदा बस्ती भएपछि के के हानी बहन गर्नुपर्छ ? यी तमाम प्रश्नको उत्तर स्थानीयबासीले बुझे भने उनीहरुले छिट्टै सम्पदा बस्ती बनाउने तर्फ अघि बढ्ने कि नबढ्ने निधो गर्नेछन् ।
यही बिषयमा साधारण जानकारी दिन सोमबार एक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सम्पदा बस्तीका हस्ती रविन्द्र पुरी उपस्थित थिए । उनले गोरखा सदरमुकामका लव्धप्रतिष्ठित व्यक्ति, अगुवा, नेतृत्वकर्ताहरुलाई सम्पदा बस्तीका बारेमा जानकारी गराएका थिए । उनको प्रस्तुतिले प्रभावित भएर सहभागीहरु सम्पदा बस्ती निर्माणतर्फ अघि बढ्न प्रेरित भएका छन् ।
अगुवाहरु तत्पर हुनु सकारात्मक हो तर यो नै सम्पूर्ण भने होइन किनभने सम्पदा बस्ती निर्माणमा कोही जाने, कोही नजाने भएर हुदैन । आमसहमति जुटेर सबै तयार हुनुपर्ने हुन्छ । यसका लागि अगुवाहरुले सर्वसाधारणलाई सिकाउनु, बुझाउनु पर्ने हुन्छ ।
गोरखा जस्तो इतिहास बोकेको नगर सम्पदा बस्तीको संरचनामा जानु अति जरुरी छ । यो कसैका लागि नभै आफ्नै लागि हो । त्यसका लागि सम्पदा बस्तीको मर्म, भावना, अन्तर्य बुझ्नु जरुरी छ ।
अहिले गोरखाबाट चुनाव जितेका प्रचण्ड प्रधानमन्त्री बनेका छन्, गोरखाकै जनप्रतिनिधि नारायणकाजी श्रेष्ठ भौतिक योजना मन्त्री छन् । सम्पदा बस्तीका विद रविन्द्र पुरी निशुल्क प्राविधिक सहयोगका लागि तत्पर भएका छन् । त्यसैले यो सुनौलो अवसर छुट्न दिनु हुदैन ।




