
धार्चेको रेसेखोलामा माघ २ देखि रेसे सिङ्ला माघेसक्रान्ति मेला हुने
धार्चे गाउँपालिका –५ रेसे खोलामा रेसे सिङला माघेसक्रान्ति मेला हुने भएको छ । रेसे सिङला माघे सङक्राति मेला मूलआयोजक समितिको आयोजनामा माघ २ गतेदेखि ५ गतेसम्म मेला हुन लागेको हो ।
मेलामा पुरुष र महिला भलिबल प्रतियोगितासँगै विभिन्न स्थानीय कलाकारहरुको लोक दोहोरी प्रतियोगिता हुने कार्यक्रम संयोजक राज गुरुङले बताए ।
मेलामा पुरुषतर्फको भलिबल प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमश ६० हजार, ४० हजार र २० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै, महिलातर्फ प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमश १५ हजार, १२ हजार र ८ हजार पाउने छन् ।
भलिबल टिम दर्ताकालागि पुरुषतर्फ ५ हजार र महिलातर्फ २५ सय रुपैया शुल्क लाग्ने उनले बताए । टिम दर्ता मिति माघ १ गते साँझ ५ बजेसम्म राखिएको छ ।
भलिबल प्रतियोगितामा सहभागी हुनका लागि प्रत्येक टिमको वैकल्पिक खेलाडीसहित जर्सी अनिवार्य गरिएको उनले जानकारी दिए ।
सोही अवसरमा माघ ३ गतेदेखि हुने मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट गीत संगीत र नृत्य प्रस्तुत हुने र माघ ४ गते गाउँस्तरीय नृत्य प्रतियोगिता पनि हुने रेसे सिङ्ला माघे सङक्राति मेला मूल आयोजकले जनाएको छ ।
प्रमुख आतिथि धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले मेलाको उद्घाटन गर्ने आयोजकले जनाएको छ । माघ २ गतेबाट सुरु हुने मेला ५ गते सकिनेछ ।
विगतमा रेसे खोलामा हुने गरेको माघेसक्रान्ति मेला विविध कारणले ६ वर्षदेखि सिङलामा सरेको थियो । अहिले ६ वर्षपछि फेरि पुरानौ स्थान रेसे खोलामा मेला आयोजना गर्न लागिएको कार्यक्रम संयोजक राज गुरुङले जानकारी दिए ।

स्थानीय स्तरमा कला संस्कृतिको संरक्षण तथा पुरुष र महिला भलिबल खेलाडीको क्षमताको विकास गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।




