
सिरानचोक ६ गाँखुमा रक्तदान कार्यक्रम सम्पन्न
सिरानचोक गाउँपालिका वडा नं ६ गाँखुमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गाँखु उपशाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी गोरखा जिल्ला शाखाको प्राविधिक सहयोगमा शनिबार रक्तदान कार्यक्रम भएको हो ।
कार्यक्रममा पुरुष १० जना र महिला दुईजना गरी १२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका सचिव सुवास घिमिरेले बताए । उनका अनुसार गाँखुको प्राथमिक स्वास्थ्यचौकीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा १२ पोका रगत संकलन भएको उनले बताए ।
गोरखा सदरमुकाममा संचालनमा रहेको ब्लड बैँकमा चाहिने रगतको आवश्यकताअनुसार जिल्लाभित्रका विभिन्न संघसंस्था, रेडक्रसका उपशाखाहरुले रक्तदान कार्यक्रम अयाोजना गर्दै आएको उनले बताए । अव केहीदिनपछि अश्राङमा रक्तदान कार्यक्रम आयोजना गर्ने तयारीमा रहेको समेत उनले बताए ।
गाँखु उपशाखाका सभापति हरि पोखरेलको सभापतित्वमा र वडा नं ६ का वडा अध्यक्ष प्रेम वस्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला शाखाका उपसभापति नन्दलाल बगाले लगायतको उपस्थिति रहेको थियो ।




