| सोमवार, कार्तिक २३, २०८३

हाडजोर्नीको शल्यक्रिया गोरखामै हुनु जिल्लाबासीलाई खुसीको कुरा

गोरखा अस्पतालमा सेवा सुविधा थपिँदो छ । समान्य उपचार बाहेक अन्यसेवा मुस्किल रहेको गोरखा अस्पतालले केही समय यता आफ्नो सेवा र गुणस्तरमा निकै फड्को मा¥यो । यसको प्रमुख कारण गोरखा अस्पतालको सुविधा सम्पन्न भबन, स्तरीय उपकरण र दक्ष जनशक्तिको थपिनु हो ।

अहिले गोरखा अस्पतालमा बिरामीको चाप गतवर्षको यो सिजनमा भन्दा धेरै छ । अस्पतालमा विषेशज्ञ चिकित्सक पनि थपिएका छन् । सुनसान हुने गोरखा अस्पतालमा दिनभरजसो बिरामीको चाप देखिन्छन् । खचाखच हुने निजी अस्पतालमा अहिले बिरामी आक्कलझुक्कल मात्रै देखिन्छन् ।

उपचार सेवा लिन सरकारी अस्पतालबाट निजीमा बिरामी रिफर हुन्थे । अहिले गोरखा अस्पतालबाट यहाँका निजी अस्पतालमा बिरामी रिफर गर्नुपर्ने अवस्था छैन । सरकारी अस्पतालमा गुणस्तरीय र सहज सेवा पाउँदा सर्वसाधारण खुसी छन् । उनीहरुलाई आर्थिक रुपमा पनि राहत मिलेको छ ।

रिफर हुँदा एम्बुलेन्स लिएर चितवन, पोखरा, काठमाण्डौँ जाँदा खर्च हुने पैसाले गोरखामै सर्वसाधारणले उपचार पाएका छन् । भलै अझै सबै खाले उपचार यहाँबाट हुन सकेको छैन । तर अहिले भईरहेको उपचार सेवा पहिले भन्दा धेरै बिस्तार र स्तरीय छ ।

अस्पतालले अहिले हाडजोनीको शल्यक्रिया सेवा पनि सुरु गरेको छ । हाडजोनी विषेशज्ञपनि अस्पतालमा छन् । यो सेवा लिन यसअघि अन्यत्र जानुपर्ने, धेरैदिन खर्चनुपर्ने, पैसापनि महँगो तिर्नुपर्ने बाध्यता थियो । गोरखा अस्पतालले हाडजोनीको शल्यक्रिया सुरु गरेपछि धेरैलाई राहत मिलेको छ ।

सरकारले निशुल्क भनेका वा बिमाबाट पाउनुपर्ने औषधी, उपचार सेवा गोरखा अस्पतालमा अहिले निकै ब्यवस्थित छ । अधिकासं औषधी अस्पतालको फार्मेसीबाट पाईन्छ । बिमा गरेकाहरुले कार्डबाट औषधी सँगै तोकिएको उपचार सेवा सहजै लिन पाउँछन् । बिमासेवा अस्पतालमा प्रभावकारी बन्दै गएको छ ।

यसले आर्थिक अवस्था कमजोर भएका, पैसा अभावमा उपचार गराउन नपाएका सर्वसाधारणलाई ठुलो राहत मिलेको छ । गोरखा अस्पतालले विषेशज्ञ सेवालाई अझै बिस्तार गर्दै जिल्लाभर र छिमेकीजिल्लामा पनि यहाँको सेवालाई ब्राण्डिङ गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्