
खाद्यको गुणस्तर र तौल हेर्ने निकायको खाँचो
सरकारले सेवा प्रवाहका क्रममा जिल्ला–जिल्लामा विभिन्न कार्यालय स्थापना गरेको हुन्छ । मानव स्वास्थ्य, पशुस्वास्थ्य, कृषि विकास, शिक्षा विकास, सामाजिक विकास, वन, निकुञ्ज, संरक्षण क्षेत्र, उद्योग आदि विकास गर्न त्यही मुताविकका कार्यलय स्थापना भएका हुन्छन् । खानेपानी, सिँचाइ, विद्युत, सडक, भवन आदि पूर्वाधार निर्माण गर्ने कार्यालय पनि प्रत्येक जिल्लाहरुमा स्थापना भएका छन् ।
न्याय सम्पादन गर्ने, पुरातत्व एवं, खेलकुद विकास, वैँक–वित्तका काम गर्ने लगायतका अनेकन कार्यालयहरु जिल्लाहरुमा स्थापना भएर काम गरिरहेका छन् । तर जीवनका लागि सबैभन्दा महत्वपूर्ण रहेको मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने खाद्य सामग्रीको गुणस्तर तथा नाप, तौलसम्बन्धी काम गर्ने कार्यालय भने जिल्लाहरुमा हुँदैन ।
सस्तोमा पाइयो भन्दैमा हामी आफ्नो सवारी साधनमा नक्कली(मिसावटयुक्त) इन्धन प्रयोग गर्छौँ कि गर्दैनौँ ? पक्कै गर्दैनौँ । दुईचार पैसा महंगो तिर्नुपरे पनि सक्कली इन्धन प्रयोग गर्छौँ । सवारी साधनको इञ्जिनभन्दा महत्वपूर्ण हाम्रो शरीरको इञ्जिन हो । हाम्रो शरीरभित्रचाहिँ मिसावटयुक्त, कमशल खानेकुरा पो परिरहेको छ कि ?सोचेका छौँ ? सावधानी अपनाएका छौँ ?
हामीले खाएको औषधी हुनुपर्ने गुणस्तरको छ ? सरकारी स्वास्थ्य संस्था(हेल्थपोष्टलगायत)मा लिएको सिटामोल खाँदाभन्दा निजी स्वास्थ्य संस्थामा लिएको सिटामोलले किन ज्वारो चाँडो निको हुन्छ ? यसको कारणको खोजी भएको छ ?
हाम्रो भान्सामा दिनहूँ पाक्ने दाल, चामल, पानी, नूत, तेल, मसला, तरकारी, मासुको गुणस्तर र नापतौल ठिक छ ? पिउने पानीको गुणस्तर कस्तो छ ? वेभरेजमा कस्ता सामग्री छन् ? सो–केशमा सजाइएका खाद्य सामग्री खानयोग्य छन् ? रंगीचंगी प्लास्टिकका खोलभित्र सजाइएका तमाम खानेकुरा हाम्रा स्वास्थ्यका लागि लाभदायी नै होलान् ? महंगो तिर्नुपर्ने ग्याँस सिलिण्डर, चामलका बोरामा हुनुपर्ने तौल छ कि छैन ?
मिति हेर्नु त न्यून दक्ष भएकाले पनि जानेका छौँ, तर बिडम्बना छ, हालै एक बेकरी उद्योगले यही मितिमा समेत लापार्बाही गरेको भेटिएको छ । यी र यस्तै तत्कालका तत्काल परीक्षण गर्न जिल्ला जिल्लामा गुणस्तर तथा नापतौलको कार्यालय हुनु जरुरी छ ।




