| आइतवार, कार्तिक २२, २०८३

तीन करोडमा चिटिक्क बन्यो अजिरकोट मन्दिर

गोरखाको अजिरकोट गाउँपालिका ३ भच्चेकमा अजिरकोट मन्दिर निर्माण भएको छ । गाउँपालिकाको दुई करोड ८६ लाख रुपैयाँ लागतमा मन्दिर निर्माण भएको गाउँपालिका अध्यक्ष दिपक देवकोटाले बताए ।

‘मन्दिर त बन्यो, अझै त्यहाँ केही पूर्वाधार बनाउन र मन्दिर संरक्षणकालागि ३० लाख रुपैयाँ बजेट आवश्यक पर्छ’, अध्यक्ष देवकोटाले भने । सो मन्दिर निर्माण गर्न रामसागर सचेत जेभीले २०७७ फागुन २६ गते सम्झौता गरेर निर्माण थालेको थियो । २०७९ साउनमा सक्नुपर्ने काम पुरा हुन सकेन । अहिले म्याद थप भएर काम भईरहेको र छिट्टै पुरा हुने उनले बताए ।

अजिरकोट मन्दिर त्यसक्षेत्रका सर्वसाधारणको आस्थाको धरोहर भएकाले संरक्षण गर्न धेरै बजेट खर्च गरिएको अध्यक्ष देवकोटाले बताए । ‘यहाँ अजिरकोटगढी छ, यहाँको पुरानो ऐतिहासिक सम्पदाको संरक्षण गर्ने स्थानीय सरकारको दायित्व पनि हो’ अध्यक्ष देवकोटाले भने ‘पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्नकालागि पनि हामीले मन्दिर संरक्षण गरेका हौँ, नयाँ निर्माण गरेका हौँ ।

’ मन्दिरसँगै चौतारो, मन्दिर वरपर पाटी, बस्ने ठाउँ, पुजाआज गर्दा बत्ती बाल्ने पाला राखेर चिटिक्क बनाइएको छ । दुईवटा मन्दिर छ । एउटा कालिका र अर्को गोरखनाथ । गोरखा सदरमुकाममा रहेको गोरखकाली मन्दिर र गोरखान मन्दिरसँग त्यहाँको मन्दिरको संम्बन्ध रहेको बताईन्छ ।

अजिरकोट डाँडामा मन्दिर रहेकाले त्यहाँबाट समथर फाँट, हिमालहरु राम्रोसँग देख्न सकिन्छ । मन्दिरसम्म जाने ढुङ्गा बिछ्याइएको बाटो, छेउमा राखिएको रेलिङ, ठाउँठाउँमा काठको फड्के र चौतारो निकै मनमोहक छ । भच्चेक जाने कालोपत्रे सडकबाट हिड्दै जाँदा करिब २० मिनेटमा पुग्नसकिने अजिरकोट मन्दिरछेउ सम्म गाडी जाने कच्ची सडक पनि छ । त्यहाँ पुगेपछि देखिने दृष्यले जो कोहीको थकान छिनमै मेटाउँछ ।

मन्दिर नजिकै रहेको ठुलो चउर, छेउछाउमा रहेका खुल्ला ठाउँ निकै लोभलाग्दो छ । गुराँस फुल्ने सिजनमा त्यहाँ जाने आन्तरिक पर्यटक धेरै हुन्छन् । अजिरकोट मन्दिरको प्रचार प्रसार, त्यस वरपर अन्य पर्यटक भुल्ने संरचना, बनभोज स्थलको रुपमा बिकास गर्ने र बत्ती पानीको राम्रो ब्यवस्था हुने हो भने धेरै पर्यटक भुलाउन सकिने अजिरकोटका ३ का पूर्व वडा अध्यक्ष तयराज गुरुङ बताउँछन् । मन्दिर वरपर गोलघर, बस्ने ठाउँहरु, शौचालय पनि निर्माण गरिएको छ ।

चैते दशैँ र बिजयादशमीको अष्टमीमा त्यहाँ भक्तजनको विषेश भिड हुने गर्छ । मन्दिर निर्माणको काम एक महिनाभित्र सक्ने निर्माण ब्यवशायी हर्क गुरुङले बताए । ‘९५ प्रतिशत काम सकिएको छ, केही छुटपुट काम पुरा गर्दैछौँ’ उनले भने । सम्झौताअनुसारको काम सकिएपनि केही भने अझै त्यहाँ काम बाँकी हुने उनले बताए ।

‘थप बजेट सहित नगरी नहुने केही काम छ, तत्काल गर्न सकियो भने मन्दिर र त्यो ठाउँलाई आकर्षक गन्तब्य बनाउन सकिन्छ’, गुरुङले भने ।
अजिरकोट मन्दिरमा मनोकांक्षा पूरा होस् भनेर भाकल गर्ने, पुजापाठ गर्न भक्तजन जाने गर्छन । त्यस क्षेत्रको विश्वासको एउटा धरोहरको रुपमा अजिरकोट मन्दिर रहेको स्थानीय यदु अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्