
गोरखा बजारको बेकरी उद्योगको लापरवाही : ६ महिनापछिको मिति राखेर धमाधम बिक्री
गोरखा सदरमुकामको बेकरी उद्योगहरुमा उत्पादित परिकारहरु विक्री वितरणमा उद्योग संचालकले चरम लापरवाही गरेको भेटिएको छ । गोरखा नगरपालिका(६ अस्पतालमार्गमा रहेको ग्रेस बेकरी उद्योगमा उत्पादन भएको बेकरी उत्पादन समय भन्दा ६ महिना पछिको मिति राखेर बजारमा विक्री भएको भेटिएको हो ।
बुधबार विहान गोरखा बजारमा उद्योगबाट विक्री गरेको पाउरोटी, केक, दुनट र बम पाउरोटीमा उत्पादन भएको मितिभन्दा ६ महिना पछिको मिति राखेर बजारमा पठाएको पाइएको हो । नियमतः उत्पादन भएको मितिबाट छ दिनसम्म पुरानो पाउरोटी मात्र बिक्री गर्न पाइन्छ । तर सो बेकरीले छ महिनापछिसम्मको मिति राखेर पाउरोटी बेचेको पाइएको हो ।
उत्पादन मिति सन् २०२३ जनवरी ५ गते हुनुपर्नेमा बजारमा खुल्ला रुपमा विक्री भइरहेको सो उद्योगबाट उत्पादित बेकरी ६ महिना बढाएर उत्पादन मिति सन २०२३ जुन ५ गते भनेर लेखिएको छ । बजारमा सो पाउरोटी भेटिनेवित्तिकै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले घटनाको बारेमा सत्यतथ्य छानविनका लागि प्रशासन कार्यालयबाट अनुगमन टोली पठाएर अनुसन्धान गरी कारबाही गरिएको बताए ।
प्रशासन कार्यालयका प्रशासकीय अधिकृत छविलाल श्रेष्ठको नेतृत्वको अनुगमन टोलीले ग्रेस बेकरी उद्योगसहित सदरमुकामका केही बेकरी उद्योग, मासु, माछा पसलहरुको अनुगमन गरी सामग्रीहरु जफत गरेको थियो । सो क्रममा बुधबार उत्पादन गरी ६ महिना पछिको मिति राखेको सबै बेकरी सामान फिर्ता गर्न, उद्योगको उत्पादन स्थलको सरसफाइ ध्यान दिन र व्यवस्थित रुपमा संचालन गर्न निर्देशन दिएको अधिकृत श्रेष्ठले जानकारी दिए ।
ग्रेस बेकरी उद्योग संचालकलाई आवश्यक कागजतपत्र लिई विहिबार(आज) प्रशासनको कार्यालय बोलाइएको छ । ती उद्योग तथा पसलहरुले जनस्वास्थ्यमाथि खेलबाड गरेको गुनासो आएसँगै तत्काल अनुगमन गरिएको सहायक प्रजिअ बरालले बताए ।
गोरखा सदरमुकाममा संचालनमा गरेको दुईवटा बेकरी उद्योग, मासु पसलका संचालकहरुले व्यवशाय संचालनका लागि आवश्यक प्रक्रिया नपु¥याएको बताउदै विहिबार पसल दर्ता लगायतका कागजपत्र लिइ पाँच जना व्यवसायीलाई प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको सहायक प्रजिअ बरालले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीले छानविन गरेपछि आवश्यक कारवाहीका लागि सिफारिस गरिने उनले बताए ।




