
राहदानी सकस : विदेश जान भन्दा राहदानी बनाउन मुस्किल
यसपटकको निर्वाचन गोरखाबाट जितेर प्रधानमन्त्री बनेका प्रचण्डले सपथ ग्रहणपछिको राहदानी वितरण प्रक्रिया सहज बनाउने विषयमा पहिलो निर्णय गरे । तर गोरखामा राहदानी वितरणमा विद्यमान चरम झण्झट टरेको छैन, बढेको छ ।
चुमनुब्री ७ छेकम्पारका छिरिङफुञ्जो लामा दुई छोरीको राहदानी बनाउन गोरखा सदरमुकाम आइपुगे । तीन दिन पैदल र एकदिन गाडीको यात्रा गरेर उनीहरु मंगलबार जिल्ला प्रशासन कार्यालय पुगे । सोध्दैखोज्दै राहदानी शाखा पत्ता लाग्यो ।
त्यहाँका कर्मचारीसित विद्युतीय राहदानी बनाउने बारे जानकारी दिए ।
‘बाहिरबाट डेट लिएर आउनू हामी बनाइदिन्छौँ भन्नु भयो । बाहिर भनेको प्रशासन कार्यालयको वरिपरिका पसल भनेको रहेछ’, सडकमा तनावमा भेटिएका लामाले भने, ‘त्यसपछि म यी दुई छोरीलाई लिएर पसल–पसल चाहारेँ, कुनै पसलले पनि हामी डेट लिइदिन्छौँ, फाराम भरिदिन्छौँ भनेनन् ।
आज यतै बस्छौँ, भोलि भरिदिनुहुन्छ त ? भनेर पसलेसित सोध्यो भने, भोलि पनि यस्सै भन्न सकिँदैन भन्दारहेछन् । कुनै दिन दुईचार जनाको फर्म भरेर डेट लिन सकिन्छ, कुनै दिन एकजनाको पनि भर्न सकिँदैन त्यसैले जिम्मा लिन सकिँदैन । प्रयासचाहिँ गर्छौँ भन्दारहेछन् ।’
यही समस्या लिएर उनीहरु फेरि कार्यालयको राहदानी फाँट धाए । ‘हामी यहाँबाट केही गर्न सक्दैनौँ । बाहिरबाटै डेट लिएर आउनु भयो भने केहीदिन अघि सार्न बरु सक्छौँ, तर डेट नलिई आएमा केही गर्न सक्दैनौँ भन्नुभयो’, उनले पीर पोखे, ‘प्रयास गर्नू, आज नभए भोलि हुन्छ, भोलि नभए पर्सि हुन्छ भन्नु हुन्छ ।
उहाँहरुले सोच्नुभयो होला, यतै बजार वरिपरिबाट आएका भनेर । हामी चार दिन धाएर आएका हौँ । यहाँ होटलमा कति दिन बस्ने ?’ अनुत्तरित प्रश्न गर्दै छिरिङफुञ्जो अपरान्ह चार बजे प्रशासन परिसरबाट बाहिरिए ।
राहदानी विभागले एमआरपी विधि छाडेर विद्युतीय राहदानी सेवा सुरु गरेपछि हरेक दिन, हरेक सेवाग्राहीले यस्तो सास्ती भोग्नुपरेको छ । जहाँ अक्कर त्यहीँ ठक्कर भनेझैँ सेवाग्राहीलाई समस्या परेको मौका छोपेर पसलेहरुले पनि मनोमानी रकम असुल्दै फाराम भर्ने गरेका अर्का सेवाग्राही मनोहर विश्कर्मा बताउँछन् ।
‘कुनै पसलेले पाँचसय रुपैयाँ लिँदो रहेछ, तर फर्म कहिले भरिन्छ, निश्चित नहुने रहेछ । कुनै पसलेले तेब्बर दस्तुर १५ सय लिने रहेछन्, उही दिनमा भरिदिने रहेछन्’, सिरानचोक १ बाट आएका सेवाग्राही विश्वकर्मा भन्छन्, ‘साह्रै बेथिति रहेछ । हामी पनि सुखले पासपोर्ट बनाउन आएका त होइनौँ नि । खाडीमा जोतिएर दुईचार पैसा कमाउन जाउँला भनेर पासपोर्ट बनाउन आएको हो । विदेश जान कहाँ हो कहाँ हो, पासपोर्ट बनाउन मुस्किल भयो ।’
सेवाग्राहीलाई मात्र होइन, यो सास्ती राहदानी फाँटमा पनि छ । ‘विभागले एकदिनमा प्रतिघण्टा आठजनाको फाराम भर्न भनेको छ, तर हामीले सेवाग्राहीको सुविधाका लागि प्रतिघण्टा १० जनाको अनलाइन फर्म भर्ने गरेका छौँ’, शाखाका एक कर्मचारीले भने, ‘तर जब विहान १० बज्छ, धेरैजनाले डेट लिनका लागि एकैचोटी प्रयास गर्दा सर्वर जाम भएर खुल्दैखुल्दैन । पोहोर माघको चार गतेदेखि यो सेवा सुरु भएको हो । एकदिन होइन, दुई दिन होइन एकबर्षदेखि यस्तो समस्या ब्यहोरेका छौँ । सेवाग्राहीले यति गुनासो सुन्नुपर्छ कि, यही तनाबले प्रेसरको औषधी खानुपर्ने अबस्थामा पुगेका छौँ ।’
यहाँ भोग्नु परेको समस्याका बारेमा कार्यालयले राहदानी विभागमा बारम्बार लिखित, मौखिक जानकारी गराएको पनि छ । स्टेशन थप गर्न माग पनि गरेको छ, तर विभागले टेरपुच्छर लगाएको छैन ।
‘हामीले चाहेर पनि सेवा थप गर्न नमिल्ने रहेछ । आन्तरिक कर्मचारी र आन्तरिक व्यवस्थापनबाट उपकरण थपेर सेवा थप गर्न नमिल्ने रहेछ । विभागले पठाएको कम्प्यूटरबाहेक अरुमा राहदानीको सर्वर नखुल्ने रहेछ’, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने, ‘स्टेशन थप गर्न उपकरण पठाइदिनुस्, कर्मचारी हामी नै व्यवस्थापन गर्छौ भनेर मौखिक, लिखित अनुरोध गरिरहेका छौँ, तर अहिलेसम्म सुनुवाइ भएको छैन । अझै प्रयास गरिरहन्छौँ ।’ सेवाग्राहीको गुनासो सुन्दासुन्दा ग्लानि महशुस भइरहेको सहायक प्रजिअ बरालको गुनासो छ ।




