
गोरखाकी फुञ्जो स्वीट्जल्याण्डका लागि पर्यटन सद्भावना दूत नियुक्त
गोरखाकी फुञ्जो लामा स्वीटजल्याण्डका लागि पर्यटन सद्भावना दूत नियुक्त भएकी छिन् । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हालैको मन्त्रीस्तरीय निर्णयअनुसार लामा सद्भावना दूत नियुक्त भएकी हुन् ।
चुमनुब्री गाउँपालिका ७ छेकम्पारकी लामा चार बर्षका लागि सद्भावना दूत नियुक्त भएकी हुन् ।

उनी सगरमाथा लगायत आठ हजार मिटर भन्दा अग्ला मनास्लु, केटु, चोयु हिमाल आरोही हुन् । सबैभन्दा छिटो ३९ घण्टा ६ मिनेटमा सगरमाथा आरोहण गर्ने महिलाका रुपमा उनले कायम गरेको गिनिज वुक अफ वल्र्ड रेकर्ड अहिलेसम्म कायम छ ।
उनी हिमालमा खेलिने स्कीकी स्वर्ण पदक विजेता च्याम्पियन हुन् भने, हेलिकोप्टरमा झुण्डिएर घाइतेको उद्धार गरिने लङलाइन रेस्क्यूअर पनि हुन् ।




