| सोमवार, कार्तिक २३, २०८३

निर्जन बस्ती नबनोस्, गुप्सीबस्ती

स्थानान्तरण हुँदा त्यो स्वभाविक हुन्छ, स्थानान्तरण गराउने कामचाहिँ अस्वभाविक हुने रहेछ, देखावटी मात्र हुने रहेछ । गत भूकम्पपछिको बस्ती स्थानान्तरण विषयले सिकाएको पाठ हो यो ।

एनआरए र एनआरएनएको लगानीमा धार्चे ४ गुप्सीपाखामा ६०२ घर बनेका छन् । जसमध्य ५७६ गैरआवासीय नेपालीहरुको संघ(एनआरएनए)ले र बाँकी घर नेपाल सरकारको पुननिर्माण प्राधिकरणले बनाएको हो ।

लाप्राक बस्ती २०५६ सालको महापहिरोपछि नै स्थानान्तरणको सिफारिसमा थियो । २०७२ को भूकम्पले झन् त्रासदीपूर्ण बनाएपछि सरकारले लाप्राका पाँचसय घरधुरीका बासिन्दालाई जतिसक्दो चाँडो स्थानान्तरण गर्ने कार्यक्रम स्वीकृत गर्यो ।
एकातिर एनआरएनएले एकहजार घर बनाउने कार्यक्रम घोषणा गरिरहनु, अर्कातिर लाप्राकका पाँचसय घरधुरीलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने अबस्था आउनुको तारतम्य मिल्यो ।

अनि सरकारले गुप्सीको १८.३२ हेक्टर सरकारी जग्गा लाप्राकका बासिन्दाको नाममा दिने निर्णय ग¥यो । सबैको नाममा लालपूर्जा पनि बन्यो, घर पनि बन्यो, घर हस्तान्तरण पनि भयो । तर दुखद कुरा, अहिले त्यहाँ मान्छे बस्दैनन् । ६०२ घरधुरी रहेको यहाँ अहिले पुग नपुग जम्मा ७० घरधुरीमा मात्र मान्छे छन् । अरु घर निर्जन छ ।

वैदेशिक रोजगारमा गएकाहरुले दुखमा परेका लाप्राकबासीका लागि माया गरेर पठाएको पैसाबाट बनेका घरहरु प्रयोगविहिन हुनु ज्यादै दुखको कुरा हो । त्यसैले यसको प्रयोग हुनुपर्छ ।

बनावटी स्थानान्तरण देखावटी मात्र हुने रहेछ । स्थानान्तरणका लागि घर मात्र भएर हुन्न रहेछ भन्ने कुरा गुप्सीबस्ती, लामावेशी बस्ती, मिलनबस्ती आदिले देखाएको छ । घर मात्र जिन्दगी होइन । घरसंगै गरिखाने जमिन चाहिने रहेछ । जमिनले मात्र पनि नपुग्ने, घाँस दाउरा गर्ने जंगल, खानेपानी चाहिने रहेछ । अनि घरगाउँ वरिपरि पूजा गर्ने गरेका देवीदेवताको थान चाहिने रहेछ ।

यी सबै भएपछि बल्ल, विद्यालय, स्वास्थ्यचौकी, प्रहरीचौकी, सडक आदि चाहिने रहेछ । यी सबै स्रोतसाधनले भरिपूर्ण भइसकेपछि पनि मान्छेको मन स्थानान्तरण नभए ज्यान स्थानान्तरण नहुने रहेछ ।
त्यसैले बस्ती स्थानान्तरण गर्न यी सबै जुटाएपछि अनि मन स्थानान्तरण गर्नुपर्ने रहेछ ।

प्रतिक्रिया दिनुहोस्