| आइतवार, कार्तिक २२, २०८३

११ औँ गोरखा महोत्सव : ‘कृषि र घरेलु उत्पादनलाई निशुल्क स्टल दिन्छौँ’


११ औँ गोरखा महोत्सव नजिकिँदैछ । बिगतको भन्दा नयाँपन दिने लक्ष्यका साथ तयारी गरिएको महोत्सवमा विभिन्न उपसमितिहरु युद्धस्तरमा सक्रिय छन् । प्रस्तुत छ, तिनै उपसमितिहरुध्यका मेला ब्यवस्थापन तथा पर्यटन प्रर्वद्धन उपसमितिका संयोजक एवं गोरखा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्केसित गरिएको कुराकानीको सम्पादित अंश ।

महोत्सवका लागि तपाईले नेतृत्व गर्नुभएको उपसमितिले के गरिरहेको छ ?

११ औँ गोरखा महोत्सवमा कृषि र घरेलु उत्पादनलाई निशुल्क स्टलको ब्यवस्था गरेका छौँ । गोरखा जिल्लाभर त्यस्ता उत्पादन गर्ने किसान र लघु उद्यमीहरुलाई आफ्नो पालिका र उद्योग बाणिज्य संघसँग समन्वय गर्न अनुरोध गर्दछु ।

यो विशेषतः कृषि उत्पादन र बिक्रीकालागि एउटा केन्द्रका रुपमा पनि हामीले बिकास गर्न खोजेका हौँ । किसानले आफ्नो पौरख देखाउने बेला पनि हो । कुन पालिकामा कस्तो उत्पादन हुन्छ भन्ने देखाउने बेला पनि हो । एक ठाउँका किसानबाट अर्को पालिका वा ठाउँका किसानले सिक्ने अवसर पनि पाउँछन् । महोत्सवमा हामी किसानलाई थोरै भएपनि प्रोत्साहित गर्ने योजनामा छौँ ।

महोत्सवमा कस्ता स्टल हुन्छन् ?

पुस २७ देखि माघ ७ गतेसम्म हुने ११ औँ गोरखा महोत्सवको तयारी तिब्र छ । स्टल ब्यवस्थापनका लागि कुराकानी भइरहेको छ । स्टल करिब एकसय बनाउने लक्ष्य छ । १५ देखि २० वटा स्टल निशुल्क रुपमा उपलब्ध गराउनेछौँ । त्यहाँ कृषि, पशुपालन, हस्तकला, लघु उद्यमीहरुको उत्पादन बिक्री र प्रदर्शनी राख्नेछौँ ।

बिभिन्न जनजातिको खानपान, रहनसहनकालागि प्रदर्शनी स्टल पनि निशुल्क उपलब्ध गराउनेछौँ । कपडा तथा फेन्सी स्टलहरु हुँदैनन् । अन्य स्टलहरु हुन्छन् । ठुला उद्योग, बहुराष्ट्रिय कम्पनीहरुलाई केही बढी र अन्यलाई केही कम स्टल शुल्क तोकिएको छ । १० देखि ५० हजारसम्म शुल्कमा स्टल बिक्री गर्ने योजनामा छाँै । अग्रिम बुकिङको ब्यवस्था गरेका छौँ ।

पर्यटन प्रवद्र्धन कसरी हुन्छ ?

पर्यटन प्रवद्र्धन भन्नाले गोरखाको ऐतिहासिक कुराहरुलाई प्रदर्शन गर्ने हो । उत्तरी गोरखाको फोटोहरु प्रदर्शनीपनि हुनेछ । एमक्यापसँग समन्व्य गरेर बिभिन्न ठाउँहरु जो सबै पुग्न सक्दैनन् फोटो भिडियो मार्फत उत्तरी गोरखाका पर्यटकीय, ऐतिहासिक ठाउँको अवलोकन गर्ने ब्यवस्था छ ।

गोरखाको जाति, भेषभुषा, संस्कृतिको अवलोकन र प्रदर्शनी हुनेछ । त्योबाहेक गोरखा दरवार, संग्रहालय, भिमसेनपार्क, पस्लाङलगायत ठाउँको पनि महोत्सव हेर्न आएका दर्शकले अवलोकन गर्नेछन् । मनकामना मन्दिर, मनास्लु हिमाल, मनास्लु पदमार्ग लगायतका बारेमा पनि जानकारी दिने गरी मेलामा प्रचार प्रसार हुनेछ ।

महोत्सवको बारेमा जिल्लाबासीलाई केही भन्नु छ ?

यो उद्योग बाणिज्य संघको मात्र महोत्सव हैन सिङ्गो गोरखाबासीको महोत्सव हो । जिल्लाबासी र पालिकाहरु सबैले पनि यो आफ्नै महोत्सव हो भनेर अपनत्व लिईदिनुभयो भने भब्य रुपमा सफल हुन्छ ।

उद्योग बाणिज्य संघ त एउटा आयोजक संस्था हो जिल्लाबासी उद्योगी, ब्यापारी, ब्यवशायिक, कृषक, सर्वसाधारण सुरक्षा निकाय, कर्मचारी नागरिक समाज, सञ्चारकर्मी सबैमा यो महोत्सव जिल्लाको एउटा उत्सवको रुपमा सफल बनाउन अपिल गर्दछु ।

प्रतिक्रिया दिनुहोस्