
‘राष्ट्रनिर्माता सलामी’ श्रेयस्कर काम
नेपाली सेना नेपालको अत्यन्तै प्रतिष्ठित संस्था हो । मुलुकको संरक्षकका रुपमा रहेको नेपाली सेना आजसम्म देशबासीको आडभरोसाका रुपमा रहेको छ ।
समयक्रममा देशका विभिन्न अंगहरु विवादित भएका छन् । तर नेपाली सेना आजका दिनसम्म विवादरहित, सर्वमान्य स्थानमा छ ।
अहिले नेपाली सेनाले एउटा निर्णय गरेको छ, ‘राष्ट्रनिर्माता सलामी’ दिने । त्यसका लागि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मस्थल गोरखा रोजेको छ । यस कामका लागि गोरखा नगरपालिकाले पनि सहयोगी भूमिका निर्वाह गरिरहेको छ ।
योजनाअनुसार गोरखा नगरपालिकाले गोरखा बजारको ठूलोआँगनमा पृथ्वीनारायण शाहको शालिक र नेपालको नक्शा बनाउनेछ । नेपाली सेनाले गोरखा दरबारबाट बिगुल बजाउनेछ । यान्त्रिक विधिद्वारा सो बिगुल ठूलोआँगनमा पनि बज्नेछ अनि नेपाली सेनाको सलामी टुकडीले परेडका साथ सलामी दिनेछ ।
सलामीका लागि पृथ्वीनारायण शाह कालीन सैन्य पोशाकमा सजिएका सैनिक टुकडी खटिनेछन् ।
सेनाका अनुसार यो परम्परा यसअघि विश्वका जम्मा दुई ठाउँमा छ, भारत र पाकिस्तानको सीमानामा र अमेरिकामा । त्यसपपछि गोरखामा पनि यो खालको सलामी गर्दा गोरखाको गौरव, शान, मान उच्च हुने विश्वास लिन सकिन्छ ।
यससंग पर्यटन विकासको पनि सम्बन्ध छ । हरेक बिहान घाम उदाउने बेला र हरेक साँझ घाम अस्ताउने बेला ‘राष्ट्रनिर्माता सलामी’ गर्दा जिल्लाभित्र, बाहिर तथा विदेशबाटसमेत आउने दर्शक आउने विश्वास लिन सकिन्छ । जसले गर्दा यहाँको पर्यटन विकास हुन्छ भन्ने आशा, अपेक्षा गर्न सकिन्छ ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहले गोरखा छाडेर राजधानी काठमाडौ सारेपछि गोरखालाई अन्याय भएको गोरखाबासीले तर्क गर्ने गर्छन् । यदि अपेक्षा गरे झैँ उनलाई गर्ने सलामीले यहाँको पर्यटन प्रवद्र्धन भयो र यसले यहाँको आयआर्जनमा ठूलो टेवा पुग्यो भने यहाँका बासिन्दाको गुनासो मेटिने अपेक्षा गर्न सकिन्छ । त्यसैले राष्ट्रनिर्माता सलामी श्रेयस्कर काम हो ।




