
कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा गोरखाका सुरेन्द्रराज पाण्डे बिजयी
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा गोरखाका सुरेन्द्रराज पाण्डे बिजयी भएका छन् ।
बुधवार भएको संसदीय दलको निर्वाचनमा पाण्डेले १८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भोजराज अर्यालले ८ मत पाए । सांसद संख्या २७ रहेको गण्डकी प्रदेशमा एक मत भने बदर भएको थियो ।
बुधवार दिउँसो १ देखि २ बजेलाई उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको थियो । दुबैले उम्मेदवारी फिर्ता नलिएपछि मतदानबाट नेता छानिएको थियो ।
संस्थापन तर्फबाट उम्मेदवार बनेका पाण्डेको प्रस्तावक पोखराका बिन्दुकुमार थापा र समर्थक लमजुङका टकराज गुरुङ थिए । पाण्डे गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा ख बाट चुनाव लडेका थिए । यसअघि राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दलको नेताको भुमिका समेत निर्वाह गरेको पाण्डेलाई चुनावकाबेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले मुख्यमन्त्री बनाउने घोषणा गरेका थिए ।
अहिले सत्तासमिकरण बद्लिएसँगै कांग्रेस प्रदेशमा पनि प्रतिपक्षको भुमिका रहने देखिएको छ । ‘राम्रा कामको समर्थन र खराब कामको बिरोध गर्न हामीले शसक्त भुमिका खेल्छौँ’ संसदीय दलको नेतामा बिजयी भएपछि पाण्डेले भने ‘प्रतिपक्ष कस्तो हुन्छ भन्ने एउटा रचनात्मक र शसक्त भुमिका गण्डकी प्रदेशमा देख्नुहुनेछ ।’
संसदीय दलको नेता चयन एउटा प्रक्रिया मात्र भएको बताउँदै उनले गण्डकी प्रदेशमा सबैभन्दा ठुलो दल रहेको नेपाली कांग्रेसले आफ्नो भुमिकामा कमी हुन नदिने बताए ।
संस्थापन इतरबाट उम्मेदवार बनेका अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थक पार्वती तामाङ थिए । गण्डकी प्रदेश सभामा प्रत्यक्षतर्फ १८ र समानुपातीक तर्फ ९ सिट कांग्रेसले हाँसिल गरेको थियो ।




