| सोमवार, कार्तिक २३, २०८३

स्थानीय उत्पादनलाई प्रवद्र्धन गरौँ

परनिर्भर भन्दा आत्मनिर्भर धेरैगुना माथि छ । रोजगार भन्दा स्वरोजगार महत्वपूर्ण हुन्छ । सायद यसलाई त बुझाइरहनु पर्दैन होला ।

त्यही मर्म र भावनाका साथ गोरखा बजारमा बिगत तीनबर्षदेखि गोरखकाली हस्तकला उद्योग सञ्चालनमा छ । स्थानीय पाँच जना महिलाहरुको साझेदारीमा सञ्चालित उद्योगमा दैनिक सात जना महिलाले रोजगारी पाएका छन् ।

उनीहरुले हाफ, फुल र मिडियम साइजका साडी, सल, पछौरा, खादा, गलबन्दी, ढाका टोपी, झोला उत्पादन गर्ने गर्छन् । त्यस्तै उनबाट बनेका पछ्यौरा, थानका कपडाहरु पनि उत्पादन गरेर विक्री गर्दै आएका छन् । उनीहरुको उत्पादन अहिले गोरखा बजारमा छ्यापछ्यापी छन् । आजका मितिसम्म उनीहरुको उत्पादनलाई बजारको समस्या छैन ।

उद्योगमा सातजना महिलाहरु कार्यरत छन् । विशेषगरी बच्च पढाउन ग्रामीण क्षेत्रबाट गोरखा बजार आई बसेकाहरु यहाँ काम गर्छन् । बिहान बालबच्चालाई स्कुल पठाएपछि उद्योगमा आउँछन् र बेलुका चारबजे बच्चा लिन स्कूल जान्छन् । यो बीचको छ घण्टा काम गरेर आठ दसहजारदेखि पन्द्रसोह्र हजार रुपैयाँसम्म आम्दानी गर्न उनीहरु सफल छन् । यति कमाइले सामान्य खर्च गरेर व्यवहार चलाउन उनीहरु सफल छन् । धेरै समय दिन पनि नपर्नेलाई यो ज्यादै उपयोगी काम बनेको छ । समय निकालेर काम गर्न सक्यो भने त्यही अनुपातमा फाइदा हुन्छ ।

खालि समयको दुरुपयोग नहोओस् र घरखर्च टार्न पुग्ने आम्दानी पनि होओस् भन्ने मनाशयका साथ सुरु भएको यस उद्यमले विशेष गरी महिलाहरुलाई धेरै लाभ दिएको छ । सीप(काम) पनि सिक्ने मौका पाउने, समयको पनि सदुपयोग हुनुका साथै सन्तान पढाउने खर्चको जोहो पनि गर्न सजिलो हुने हुँदा यस्ता खालका सिलाइ, बुनाइका काम महिलाहरुका लागि ज्यादै महत्वपूर्ण हुन्छ ।

सञ्चालकले आफ्नो उद्योगबाट उत्पादित कपडाहरु बिक्रीका लागि कोसेली घर संचालन गरेका छन् । त्यहाँ कच्चा पदार्थ काठमाडौ र चितवनबाट ल्याउँछन् । उद्योगमा उत्पादन भएका सबै सामग्रीहरुचाहिँ गोरखा बजार र केही सामग्री भने बन्दीपुर, चितवन, तनहु पठाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्