
बेला छँदै उत्खनन गरौँ, बेला गुज्रेपछि दोहन नगरौँ
‘दिन उजेली सुती बिताई, रात उजेली बिस्कुन सुकाई’, भन्ने नेपाली उखान प्रचलनमा छ । अर्थ स्पष्ट छ, बेला छउञ्जेल गुमनाम हुने अनि बेला गुज्रेपछि काम सम्हाल्न खोज्ने ।
यो प्रवृत्ति सबै क्षेत्रमा प्रचलित छ । विशेषगरी राजनीतिमा ज्यादा छ । कुनै निर्णय गर्न दिइएको म्यादको अन्तिम चरणमा मात्र प्रयास सुरु गर्ने अनि बेला गुज्रिने दिनको राति १२ बजेतिर हतारहतार निर्णय गर्ने ।
तर यहाँ सन्दर्भ नदीजन्य सामग्री–ढुंगा, गिटी, बालुवा) उत्खनन सम्बन्धी हो ।
जेठ ३१ गतेसम्म मात्र नदीजन्य सामग्री उत्खनन गर्न पाइन्छ । तब डेडलाइन गुज्रिने बेला मात्र टेण्डर खुल्ने अनि १५ दिनभित्र, २० दिनभित्र उत्खनन गरिसक्ने गरी काम गर्ने परम्परा हाम्रोमा छ । त्यसरी हतारमा उत्खनन गर्दा उचित भन्दा अनुचित दोहन हुने गर्छ । जसलाई नियमन, नियन्त्रण गर्छु भन्दाभन्दै पनि समर्थ भइँदैन ।
यसबर्ष पनि अब उत्खनन गर्न पाउने म्याद सक्किन जम्मा पाँच महिना बाँकी छ । कुनै पालिकाले भर्खर आईईई सुरु गरेका छन् । कुनै पालिकाले ठेक्का लगाएका छन्, आवेदन परेको छैन । फेरि टेण्डर गर्नुपर्ने अबस्थामा छ । कुनै पालिकाले टेण्डर आव्हान गरेका छन् । कुनै पालिका टेण्डर गर्ने तयारीमा छन् ।
प्रक्रिया गर्दागर्दै बेला गुज्रिन्छ, अनि उत्खनन् गर्न भ्याइँदैन । अनि हतपतमा लतपत हुन्छ । त्यसैले बेलैमा प्रक्रिया सुरु गर्नु उचित हुन्छ ।
यसबर्ष स्थानीय तह र संघ तथा प्रदेशसभाको निर्वाचन थियो, त्यसैले ढिला भएको हुनसक्छ । तर यस्तो कुनै न कुनै समस्या बर्ष बर्षेनी आइलाग्छ । कहिले भूकम्प, कहिले कोभिड, कहिले चरम विवाद, कहिले यस्तै केही ।
बाधा व्यवधान जे जसो भए पनि समाधान गरी प्रक्रियाचाहिँ बेलैमा सुरु गरेर बेलैमा सम्पन्न गर्ने बानी बसाल्नु पर्छ ।




