
गोरखा आयुर्वेदमा तनाव कम गर्ने शंखपुष्पीको उत्पादन सुरु
गोरखा आयुर्वेद कम्पनी लिमिटेडले नयाँ उत्पादन सुरु गरेको छ । एक सय पाँच भन्दाबढि प्रकारका औषधी उत्पादन गर्दै आएको कम्पनीले पछिल्लो पटक तनाव कम गर्ने, अनिद्रा, मानसिक तथा शारीरिक दुर्बलता सुधार गर्ने ‘शंखपुष्पी’ उत्पादन गर्न थालेको कम्पनीका प्रशासन प्रमुख अर्जुन अर्यालले बताए ।
‘यो औषधी चार सय ४० एमएल र दुई सय एमएलमा दुई थरीको उत्पादन हुन्छ’, उनले भने, ‘नेपालभर यो औषधी पठाइएको छ । दुईमहिना यता हामीले उत्पदान गरेर भर्खरै बजार पठाएका हौँ ।’ औषधीको सकारात्मक प्रतिक्रिया आएको उनले बताए । जेठीमधु, शंखपुष्पी लगायतका जडिवुटी मिसाएर बनाएकाले यो स्वाथ्यका लागि निकै उपयोगी रहेको उनले बताए ।
कम्पनीले सबैभन्दा धेरै अभिपत्तिकरणचूर्ण उत्पादन गर्छ । यो ग्यास्ट्रीकका लागि उपयोगी रहेको कम्पनीका कबिराज जीवन रेग्मीले बताए । पायल्सको लागि पिलगरिन, च्यावेनप्राश, कासारिन, बालामृत लगायतका उत्पादन धेरै हुने गरेको उनले बताए ।
च्यावेनप्रास पनि तीन प्रकारको छ । स्पेशल, साधारण र शक्तिप्राश । स्पेशल नयाँ उत्पादन हो । प्रतिकेजी एक हजार ७५ रुपैयाँमा बिक्री हुन्छ । यसमा यार्सागुम्बा, केशरलगायत जडिबुटी मिसाइएको हुन्छ । यसको माग कम्पनीमा धेरै छ ।
हर्वल टीबाट उत्पादन थालेको गोरखा आयुर्वेद कम्पनी अहिले उत्पादन गर्ने एकसय पाँच भन्दाबढि प्रकारका आयुर्वेद औषधीको बजार नेपालभर रहेको जनाएको छ । सबैभन्दा धेरै काठमाण्डौँ, नेपालजंग, वीरगंज, पोखरा, चितवन लगायत ठाउँमा औषधीको माग भएको कम्पनीका प्रमुख अर्यालले बताए ।
गोरखा आयुर्वेदले गतवर्ष २१ करोडको औषधी बिक्री गरेको थियो । बिहान ९ देखि साँझ ५ बजेसम्म संचालन हुने उद्योगमा ३५ जना मजदुर, कर्मचारी कार्यरत छन् । गोरखा आयुर्वेदको उत्पादनको प्रचार प्रसार गर्न पुस २७ देखि माघ ७ सम्म हुने महोत्सवमा पनि स्टलमा उत्पादिन औषधी राखिने कार्यालय प्रमुख अर्यालले बताए ।
‘यहाँ उत्पादन भएको आयुर्वेद औषधी मुख्य बजार भने यहाँ होइन । गोरखा जिल्लामा एक प्रतिशत पनि ब्यापार हुँदैन’, कम्पनीका कर्मचारी भन्छन्, ‘यहाँ अन्य बिदेशी कम्पनीका औषधी बिक्री गरिन्छ, यहाँको आयुर्वेद कम्पनीको खासै ब्यापारीले बेच्दैनन् ।’
गण्डकी प्रदेशमै गोरखा आयुर्वेद कम्पनी नमुना उद्योग हो । प्रदेशभित्र पनि यसको बजार छैन । खासै प्रयोग गर्दैनन् । तर काठमाण्डौँदेखि बिदेशी बजारमा भने यस कम्पनीको उत्पादन छ्याप्छ्याप्ती छ । बिदेशीले खोजी खोजी गोरखा आयुर्वेदको औषधी प्रयोग गर्छन् । ठूला बजारमा आयुर्वेदको माग थेग्न कम्पनीलाई हम्मेहम्मे छ ।
बिदेश निर्यात हुने सबैभन्दा धेरै चिया हो । यहाँ उत्पादन भएको ‘पावर टि’ गुड्ची टि’ तुलसी चिया, स्लिम चिया जस्ता उत्पादन निर्यात हुन्छ । कम्पनी सिधै निर्यात नगर्ने भएकाले परिमाण ठ्याक्कै यकिन नभएपनि बिदेश बिक्री गर्नेहरुले अत्याधिक चियाको माग गर्छन् । प्रेसर, सुगर, मधुमेह, कब्जियत हुने, जोर्नी दुख्ने हरेक समस्या समाधान गर्ने खालका औषधी कम्पनीले उत्पादन गरिरहेको छ ।
बजारको माग, आवश्यकता, बिक्रीका आधारमा कम्पनीले उत्पादन बढाउँछ । मानिसमा पछिल्लो समय बढ्दो रक्तचाप, मधुमेह, तनाव जस्ता रोगको शिकार बढेका कारण त्यस्ता रोग प्रतिरोधी उत्पादनलाई उद्योगले प्रश्रय दिएको प्रशासन प्रमुख अर्जुन अर्याल बताउँछन् ।
आयुर्वेद कम्पनीले कच्चापदार्थ गोरखाबाटै संकलन गर्छ । अहिले गोरखा आयुर्वेद कम्पनीका सदस्यहरुले संचालन गरेको गोरखा अर्गानिक हर्वल फार्मबाट धेरै कच्चा पदार्थ आउने गरेको छ । अमला, हर्रो, बर्रो, मरिच, जेठीमधु, निसोध, असुरो, निम, जस्ता बनस्पति र त्यसको फल गोरखा नगरपालिका, छोप्राक, खोप्लाङ, धार्चे गाउँपालिका, चुमनुब्री, सुलिकोटको बारपाक, लगायतका ठाउँबाट आयुर्वेद कम्पनीमा कच्चापदार्थ (जडिवुटी) ल्याइन्छ ।
चूर्ण, क्याप्सुलदेखि झोल तरिकाले पनि आयुर्वेद औषधी तयार गरिन्छ । उपभोक्ताको सजिलोका लागि र मागअनुसार सहज पहुँचमा पु¥याउन, सजिलै प्रयोग गर्न मिल्ने हुन्छ ।
आयुर्वेद औषधी तयार गर्दा शास्त्रीय विधिलाई पहिलो प्राथमिकतामा राखिने कबिराज जीवन रेग्मी बताउँछन् । कम्पनीमा कार्यरत कविराजहरुले डाक्टर विधि पनि त्यसमा मिलाउँछन् ।
आयुर्वेदिक औषधीले कुनै ‘साईड इफेक्ट’ नगर्ने उनले बताए । मानवीय स्वास्थ्यमा तत्काल प्रतिक्रिया जनाउने निको हुने औषधीलाई धेरै प्रयोग गरिन्छ । ‘नतिजा चाँडो चाहिनु मानवीय स्वभाव हो, तर बिस्तारै निको हुने र कुनै असर नगर्ने आयुर्वेदिक औषधीप्रति विश्वास बढेको छ’ उनले भने ।
कम्पनीमा अध्ययनकालागि पनि विद्यार्थी आउने गर्छन् । देशका बिभिन्न ठाउँबाट फार्मेसी पढेका विद्यार्थीहरु आउने गरेको कम्पनीले जनाएको छ । वर्षमा ५० देखि ६० वटा विद्यार्थीको समुह आयुर्वेद कम्पनीले कसरी उत्पादन गरेको छ, कच्चा पदार्थको संकलन कसरी गरेको छ, कुन शुत्र प्रयोग गरेर औषधी तयार गरेको छ भन्ने जानकारी लिन आउँछन्’ कम्पनीका प्रशासन प्रमुख अर्यालले भने । अहिले पनि यो क्रम बढ्दो छ ।




