| सोमवार, कार्तिक २३, २०८३

डिजिटल वैंकिङमैत्री मनकामना

‘एनएमबी’ वैँक र ‘फोनपे’ले प्रसिद्ध धार्मिक स्थल मनकामनालाई डिजिटल वैंकिङमैत्री नगरका रुपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रम लञ्च गरेको छ ।

नेपाल राष्ट्र वैँकका निर्देशक(डिजिटल प्रमुख) गुरुप्रसाद पौडेल, शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा, एनएमबी वैँकका प्रमुख कार्यकारी अधिकृत सुनील केशी, फोनपेका प्रमुख कार्यकारी अधिकृत विवश सापकोटा, मनकामना मन्दिरका मूल पुजारी इन्सान थापा र फोनपेका ब्राण्ड एम्बेस्डर सन्दीप क्षेत्रीले शुक्रबार मनकामना मन्दिरको खातामा क्यूआर कोडबाट पैसा जम्मा गरेर यो सेवाको आरम्भ गरेका हुन् ।

मनकामना यसै पनि दैनिक पाँच हजार भन्दा धेरै भक्तजन तथा पर्यटक भित्रिने ठाउँ हो । यहाँ डिजिटल आर्थिक कारोबार हुँदा आर्थिक पारदर्शीतामा थप सहज हुने विश्वास गर्न सकिन्छ । यसले मनकामनामा पर्यटक तथा भक्तजनको आवागमनलाई सहज बनाउने विश्वास सबैमा छ । डिजिटल आर्थिक कारोबारले गर्दा पैसा बोकेर हिँड्नु पर्ने झञ्झटबाट मुक्ति, चोरी, लुटपाटबाट सुरक्षित, खुद्रा पैसाको लेनदेनमा झञ्झटले हुने नोक्सानीबाट मुक्ति, हातमा पैसा भएपछि हुने फजुल खर्चबाट सुरक्षित हुने हुँदा सबै पक्ष खुशी छन् ।

तर यसका केही दुर्वल पक्ष पनि छन् । फोनपेबाट भुक्तानी गर्दा प्रेषकको वैँकको रकम काटिने, तर प्रापकले तत्काल भुक्तानी नपाउँदा अत्यन्त सास्ती खेप्नु परेका उदाहरण बग्रेल्ती छन् । कहिलेकहीँ एक, दुई दिनसम्म कारोबार नहुने, कहिलेकहीँ कारोबारै नहुने हुँदा प्रेषक, प्रापक दुवै दुखी हुने गरेका छन् ।

हतारमा मनकामना पुगेका भक्तजन तथा पर्यटक यस्तो झञ्झटमा परे भने फोनपे प्रविधिमाथि नै दिक्दार हुने र यसको कहिल्यै प्रयोग नगर्नेसम्म हुन सक्ने छन् । तसर्थ यसप्रति फोन पे तथा वैँक सजग, सचेत हुनुपर्छ ।

समग्रमा आधुनिक युग सापेक्ष प्रविधिसित मनकामनाबासीलाई पनि एकाकार बनाउने यो कार्यक्रमलाई धन्यवाद नदिइरहन सकिन्न ।

प्रतिक्रिया दिनुहोस्