
धार्चे गाउँपालिका प्रमुखमाथि स्थानीय युवाद्वारा आक्रमण
धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङमाथि स्थानीय युवाहरुले आक्रमण गरेका छन् । धार्चे गाउँपालिका ४ लाप्राकमा आयोजित एक कार्यक्रममा सहभागी भइरहेका बेला लाप्राकका युवाहरुले ढुङ्गामुढा गरी प्रहार गरी आक्रमण गरेका हुन् ।
गुरुङलाई लक्षित गरी प्रहार गरिएको ढुङ्गा लागेर उनलाई जोगाउन खोज्ने स्थानीय राम गुरुङ घाइते भएका छन् । घाइते गुरुङको ढाडमा गहिरो चोट लागेको छ । स्थानीय जीत गुरुङ नेतृत्वको टोलीको आक्रमणमा कार्यक्रममा प्रयोग भएको पाँचवटा कुर्ची, टेबल, स्पिकरबक्स तोडफोड भएको गाउँपालिकाका प्रमुख गुरुङले बताए । साथै सो समूहले गाउँपालिका प्रमुख सहभागी भएको कार्यक्रमको तुल ब्यानरसमेत नष्ट गरेका छन् ।
‘एक सामाजिक संस्थाले गरेको खानेपानी योजनाको कामको भुक्तानी नदिएको आरोप ममाथि लगाए’, गाउँले प्रमुख गुरुङले भने, ‘काम गरेको भुक्तानी दिन नसक्ने अध्यक्ष नि के अध्यक्ष भन्दै ममाथि ढुङ्गामुढा हाने । म त जोगिएँ । राम गुरुङ घाइते भए । मसंगै रहेकी वडा सदस्य सुकमाया बिकलाई त लछारपछार नै गरे ।’ बिकको मोबाइल पनि उच्छृङ्खल युवाहरुले नष्ट गरिदिएको उनले बताए ।
स्थानीयबासीले सङ्कलन गरेको जडिबुटी आफूहरुलाई बाहेक अरुलाई बिक्री नगर्न गाउँलेलाई धम्काउने, थर्काउने गरेको ती युवाहरुमाथि आरोप छ ।
साथै जीत गुरुङले ठेक्का लिएको गुप्सीभञ्ज्याङ देखि सिङ्ला जोड्ने सडकका लागि बिनियोजित ५० लाखको योजनामा २५ लाखको मात्र काम गरेको, बाँकी काम अलपत्र बनाएको आरोप छ । ‘मैले मन्तव्य राख्दा कुनैपनि ठेक्कापट्टामा सिण्डिकेट नलगाउन, जिम्मा लिएको काम सम्पन्न गर्न सचेत गराएको थिएँ, त्यसलगत्तै आक्रमण भएको हो’, उनले भने, ‘हामीले प्रहरीलाई खबर गरेका थियौं तर प्रहरीले तर प्रहरीले केही कारबाही गर्न सकेन ।’ जीत गुरुङले भने आफू सो घटना हुँदा त्यहाँ नरहेको दाबी गरेका छन् । ‘आक्रमण भयो भन्ने सुनेको थिएँ, तर म घटना भएको ठाउँमा थिइन’, गुरुङले भने, ‘म साँझमा घटना स्थलमा पुगेको थिएँ । केटाहरुले त्यसरी आक्रमण गर्नुचाहिँ गल्ती हो ।’ गरेको कामको भुक्तानी नपाउँदा आक्रोशित भएको स्वीकार गरे ।




