| मङ्लबार, कार्तिक २४, २०८३

शहिदलखन गाउँपालिकामा क्षयरोग र आँखा परिक्षण शिविर

गोरखाको शहिदलखन गाउँपालिकामा क्षयरोग जोखिम समूह भएका समुदायको माइक्रोस्कोपी क्याम्प संचालन भएको छ । पालिका भित्रका स्थानीयहरुमा क्षयरोग रोग भएको हुन सक्ने अनुमानका आधारमा शिविर संचालन गरी स्थानीयहरुको खकारको नमूना संकलन गरिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य संस्थामा पहुँच कम भएको समुदाय तथा क्षयरोग हुन सक्ने सम्भावित क्षेत्रमा स्थानीयहरुको खकारको नमूना संकलन गरिएको गाउँपालिका स्वास्थ्य शाखाका वीरेन्द्र श्रेष्ठले बताए । उनका अनुसार वडा नं ३ स्थित माथिल्लो ग्याजामा बसोबास गर्दै आएका स्थानीयहरुलाई केही दिनअघि क्षयरोग के हो ? कस्तो मान्छेलाई क्षयरोग हुन सक्छ भनेर अभिमुखीकरण गराएका थिए ।

उनीहरुमध्ये २५ जना महिला र २८ जना पुरुषको खकारको नमूना संकलन गरी ल्याएको श्रेष्ठले बताए । सो नमूना पुस ३ गते बुङकोट स्वास्थ्य चौकीमा ल्याव परीक्षण गरी रोग पत्ता लागेहरुलाई सम्बन्धित ठाउँमा पुगेर उपचारको व्यवस्था मिलाइने उनले बताए ।

त्यस्तै, गत मंसीर २३ गतेदेखि शहिदलखन गाउँपालिका भित्रका वडा नं १ देखि ९ नम्बर वडामा निशुल्क आँखा जाँच शिविर संचालन भइरहेको छ । शुक्रबार वडा नं ८ मा मोतियाविन्दु शिविर सम्पन्न भएको श्रेष्ठले बताए । जसमा एक सय २३ विरामीले आँखा परीक्षण गरिएको थियो । उनीहरु मध्ये नौ जनाको मोतियाविन्दु देखिएको छ ।

उनका अनुसार अव आँखा शिविर नाम्जुङ स्वास्थ्य चौकी र मनकामनाको कानाटार सामुदायिक भवनमा शिविर संचालन गर्न बाँकी रहेको बताए । मोतियाविन्दुको समस्या देखिएका विरामीहरुलाई यहि पौष ६ र ७ गते बुङकोट स्वास्थ्य चौकीमा निशुल्क आँखा अप्रेशनका लागि बोलाइएको उनले जानकारी दिए । गोरखा लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्