| सोमवार, कार्तिक २३, २०८३

धार्चे २ का वडाअध्यक्षको कार्यशैली उदाहरणीय

संघीय शासन प्रणालीमा केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटा तह हुन्छन् । यी तीनमध्य जनस्तरमा पुगेर प्रत्यक्ष सेवा दिने वडा कार्यालयले हो । यसरी हेर्दा वडाको संरचना आकारगत रुपमा सानो भए पनि सेवाको दृष्टिले सबैभन्दा प्रभावकारी हुन्छ ।

हरेक सरकारी कामका लागि सिफारिस वडा कार्यालयले नै बनाउनु पर्ने हुन्छ । गाउँघरको विकासका हरेक सवाल वडा कार्यालयसंगै जोडिएका हुन्छन् । वडा कार्यालयलाई इग्नोर गरेर कुनै पनि काम, कार्यक्रमहरु सञ्चालन भएका हुँदैनन्, त्यसैले यो इकाइ धेरै महत्वपूर्ण हुन्छ ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले पालिका कार्यालयको काम सम्हाले पुग्छ । प्रदेश सांसदले प्रदेश कार्यालय र प्रतिनिधिसभा सदस्यले केन्द्र संसद सम्हाले पुग्छ, तर वडाका जनप्रतिनिधि हरेक घरदैलोसित जोडिएका हुन्छन् । गाउँलेका सुख, दुखसित जोडिएका हुन्छन् ।

नागरिकसित सिधै जोडिने हुँदा वडाअध्यक्षले गाउँपालिकादेखि प्रदेश सरकार र केन्द्र सरकारको समेत जवाफदेही बन्नुपर्ने हुन्छ । सरकारप्रतिको जनगुनासो उनैले सुन्नुपर्छ । धरातलमा रहेका सर्वसाधारणले शासन व्यवस्थाप्रति पोखेको तिक्तताको सामना पनि उनैले गर्नुपर्छ । त्यसैले वडाअध्यक्ष अत्यन्त सक्षम हुनुपर्छ ।
तैपनि कतिपय वडाअध्यक्ष अतिरिक्त टाठाबाठा छन् ।

जनअपेक्षा भन्दा माथि उठेर सेवा भावले काम गरिरहेका हुन्छन् । कतिपय वडाअध्यक्ष भने दिन कटाउने अवधि विताउने काम मात्र पनि गरिरहेका हुन्छन् । त्यस्ता जनप्रतिनिधिले आफ्नो मात्र नभै जनताका बीच साख तोडिसकेको अबस्था छ । कुन अध्यक्ष कस्तो भनेर उनीहरुलाई मतदाताले तौलिरहेका हुन्छन् ।

चुनाव त पाँचपाँच बर्षमा दोहोरिरहन्छन् । त्यो अबस्थामा मतदाताले हिसाब किताब गर्नेछन् । त्यसैले वडाअध्यक्ष आफ्नो ठाउँको सुख, दुखका हरेक घटनामा जोडिनुपर्छ । धार्चे २ का वडाअध्यक्ष सरोज गुरुङ झैँ सेवाग्राहीलाई भेट्न टोलटोलमा पुग्नुपर्छ ।

कार्यशैली सबैको एउटै त नहुन सक्छ, तैपनि उनको यो शैली अत्यन्त मौलिक र समाजसेवी छ । उनी कि नियमित आलोपालो गरी टोलमा जाने गर्छन्, कि टेलिफोन संपर्कमा आउनेहरुलाई मिति र समय तोकी बीच भागसम्म गएर सेवा दिने गर्छन् । उनको आफ्नै टोलका सेवाग्राहीलाई घरमै बोलाएर काम गरिदिन्छन् । उनको यो कार्यशैली अनुकरणीय छ ।

प्रतिक्रिया दिनुहोस्