
उज्यालो गण्डकीको ओझेलमा केरौँजावेशी
संघीयता कार्यान्वयन पछिको पहिलो सरकारले धेरै लोकप्रिय कार्यक्रमहरु घोषणा गरे । कतिपय कार्यक्रम सिलान्यास भइसकेका छन्, कतिपय कार्यक्रम कार्यान्वयनको चरणमा गए, कतिपय धमाधम सञ्चालन भइरहेका छन्, कतिपय सम्पन्न नै पनि भइसके । सुरु नै हुन नसकेका कार्यक्रमहरु पनि कतिपय छन् ।
गण्डकी प्रदेश सरकारले पनि धेरै नयाँ कार्यक्रमहरु घोषणा ग¥यो । तीमध्य एकघर एकधारा र उज्यालो गण्डकी कार्यक्रम धेरै लोकप्रिय र प्रभावकारी कार्यक्रम थिए । ती कार्यक्रम कार्यान्वयनको चरणमा छन् । कतिपय गाउँमा यी कार्यक्रम सम्पन्न भएका छन्, कतिपय बाँकी नै छन् ।
गोरखाका दुर्गम केही गाउँबस्तीमा उज्यालो गण्डकी कार्यक्रम कार्यान्वयन हुन बाँकी छ । त्यही मध्यको एक हो, धार्चे गाउँपालिका २ केरौजाबेशी । यहाँ २०७२ को भूकम्पदेखि विजुली वत्ती छैन । त्यसअघि सञ्चालित ४५ किलोवाटको भूतखोला लघुजलविद्युत आयोजना भूकम्पले नष्ट ग¥यो । त्यसपछि यहाँ बसोबास गर्दै आएका ५० घरधुरी विजुलीबत्ती प्रयोग गर्नबाट बञ्चित भए ।
विभिन्न असुविधा र जोखिमका कारण यहाँबाट धमाधम बसाइँसराइ सुरु भयो । अहिले यहाँ करिब ३० घरका बासिन्दा बसोबास गर्छन् । उनीहरु पनि विजुलीबत्ती प्रयोग गर्नबाट बञ्चित छन् ।
गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको उज्यालो गण्डकी अभियान यहाँ पुग्न पाएको छैन, त्यसैले यहाँका बासिन्दा गाउँपालिकाले वितरण गरेको १० वाट क्षमताको सोलार बत्ती बालेर गुजारा चलाउँदै आएका छन् । यसले बत्ती बाहेक विजुलीबाट चल्ने अरु सेवा चल्न सक्दैन । मोबाइल चार्ज सम्म पनि हुन सक्दैन ।
भूकम्पका बेला आएको एक गैरसरकारी संस्थाले १०० वाटको सोलार प्रविधिमा गाउँका बासिन्दाले पालैपालो मोबाइल चार्ज गर्नेगर्छन् । धार्चेको विभिन्न गाउँबस्तीमा केन्द्रीय प्रशारण लाइन पुगेको छ । यहाँ पनि चाँडोभन्दा चाँडो विजुली बत्ती पु¥याएर स्थानीयबासीलाई सेवा दिन तथा उज्यालो गण्डकी अभियानलाई सफल बनाउनु जरुरी देखिन्छ ।




