
गोरखामा १३ हजारभन्दा बढीको मुटु परीक्षण
शुक्रबार र शनिबार गोरखा अस्पतालमा आयोजित निशुल्क मुटु रोग परीक्षण शिविरमा १३ हजारभन्दा बढिले मुटु परीक्षण गराएका छन् ।
रोटरी क्लव अफ गोरखा, गोरखा अस्पताल, रोट्रयाक्ट क्लब अफ गोरखा इन्ट्रयाक्ट क्लब अफ ओल्ड क्यापिटलको आयोजना तथा सेभ द हर्ट, मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालको प्राविधिक सहयोगमा दुई दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको थियो । शिविरमा करीब १२ हजार बिद्यार्थी र एकहजार १७ जना सर्बसाधारणको मुटु परीक्षण गरिएको रोटरी क्लवका अध्यक्ष कृष्ण ढकालले बताए । उनका अनुसार शिविरमा इसिजी, इको परीक्षण लगायत अन्य सेवा लिएका थिए ।
परीक्षण गराएका मध्य ३६ जनाको मुटुको शल्यक्रिया गर्नुपर्ने उनको भनाई छ । शल्यक्रिया गर्नुपर्ने बिरामीको कुरुवा र बिरामीलाई पनि आतेजाते खर्च, बस्ने खाने ब्यवस्थासमेत क्लवले जोहो गरिदिने र तीन पटकसम्म फलोअपको निशुल्क व्यवस्था गरिदिने उनले बताए ।
शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराईको नेतृत्वका ३० जनाको टोलीले स्वास्थ्य जाँच गरेका थिए भने गोरखा अस्पतालका १२ जना चिकित्सक तथा स्वास्थ्यकर्मीको सहयोगमा परीक्षण भएको थियो ।
शिविर संचालनका लागि गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, सहिदलखन गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेनथापा गाउँपालिकाले आर्थिक सहयोग गरेका थिए ।




