
ठूलोआँगनको गरिमा जोगाउँ
गोरखा दरबार र कालिका मन्दिर जीर्णोद्वार गर्दा आरसीसी गरेर पिलर उठाई अर्कै आधुनिक डिजाइनको उत्कृष्ठ भवन बनाएको भए के हुन्थ्यो ? आँगनमा, सिँडीमा बिछ्याइएको ढुंगा निकालेर सिँगमर्मर बिछ्याएको भए झन राम्रो पो हुन्थ्यो कि ।
विचित्रको रंगरोगन गरेर, जताततै महंगा बिजुली बत्तीले भिलिमिली पार्न सकेको भए झन राम्रो पो हुन्थ्यो कि ? दरबार, मन्दिरसम्म पुग्न पनि कठिन त्यो डाँडाबाट सरेर बजार नजिकैको तलको समथर ठाउँमा स्थानान्तरण गर्न पाए अझै भक्तजनहरु, पर्यटकहरु धेरै आउँथे कि ? आखिर नराम्रो गर्न खोजेको होइन, राम्रै गर्न खोजेको हो ।
बसपार्कदेखि ठूलोआँगनसम्म बिछ्याइएको ढुंगाले खासै सौन्दर्य दिन सकेको छैन । त्यसलाई उठाएर चिल्लो कालोपत्रे सडक बनाउन सके अति सुन्दर हुने थियो ।
ठूलोआँगनको तल्लो दरबारको पनि इट्टाको गारो हटाएर टायल, मार्वल बिछ्याउन पाए, आधुनिक प्रविधि प्रयोग गरेर तल्लो दरबारलाई झिलिमिली पार्न सके अझै राम्रो हुनेथियो कि ? किन इटाको गारो, किन भुइँमा ढुंगा काटेर ओछ्याएका ? भुइँभरि बुट्टेदार टायल, मार्बल टल्काइदिने हो भने कस्तो सुन्दर देखिँदो हो ? त्यो झाडी, भुईभरि झारपात छन्, तिनलाई सिनित्तै पारेर जताततै टायल, मार्वलले चिल्लो, चिप्लो, सफा सुग्घर बनाउन पाए धेरै सुन्दर, सफा हुने थियो । आधुनिक युगमा पनि ढुंगे युगकै पारा किन ? जे जसो गर्दा आकर्षक हुन्छ, जसरी बनाउँदा सुन्दर देखिन्छ, त्यस्तै गरे हुन्न ? तर्क त हो ।
तर्कका क्रममा ठूलो स्वर जसको हुन्छ, चर्को हाँकोडाँको जसको हुन्छ, राजनीतिक माहोल जसको बलियो छ, पद, सत्ता, शक्ति जसको पक्षमा छ उसले जे बोल्छ त्यही निर्णय हुने त हो । जसको रवाफ छ, जसको प्रभाव छ, उसकै बोली त बिक्ने हो । बोल्नेकै त हो पिठो बिक्ने, नबोल्नेको चामल किन बिक्नु पर्छ र ?
यो बहश अहिले ठूलोआँगन क्षेत्रलाई कसरी राम्रो बनाउने भन्नेमा केन्द्रित छ । प्राचीन संरचनामा प्रहार गरी ठूलोआँगनलाई कसरी राम्रो बनाउने भन्ने विमर्श अहिले चलिरहेको छ । रवाफ र प्रभाव पार्न सक्नेहरुका कारण माहोल प्राचीन संरचनाको मर्म र भावना विपरीत नयाँ संरचना निर्माण गर्ने पट्टि ढल्केको छ । प्राचीन संरचनाको पक्षबाट पैरवी गर्ने निकाय मौन छ ।




