
गोरखाको भिमकुल सहकारीद्वारा २५ करोड भन्दाबढि ऋण लगानी
गोरखाको भिमसेन थापा गाउँपालिका ७ मा रहेको भिमकुल बचत तथा ऋण सहकारी संस्थाले २५ करोड भन्दाबढि ऋण लगानी गरेको छ । २७ औँ वार्षिक साधारण सभाको अवसरमा शुक्रवार गोरखा सदरमुकाममा आयोजना गरिएको पत्रकार भेटघाटमा अध्यक्ष कृष्णकुमार श्रेष्ठले गत कात्तिक मसान्त सम्म २५ करोड ४३ लाख ५६ हजार पाँच सय ३३ रुपैयाँ ऋण प्रवाह भएको बताए ।
३ करोड ४३ लाख शेयर पूँजी रहेको सहकारीको २ करोड ७३ लाख जगेडा कोष छ । २५ करोड १५ लाख निक्षेप रहेको छ भने ६ करोड ५९ लाख नगद तथा बैंक मौज्दात रहेको सहकारीका अध्यक्ष श्रेष्ठले बताए । कुल पुँजी एवं दायित्व ३४ करोड ६४ लाख रहेको छ । २६ दशमलव २२ प्रतिशत तरलता रहेको साधारण सभामा पेश गरिएको प्रतिवेदनमा उल्लेख छ ।
२०५२ सालमा ३१ जना सदस्यबाट सुरु भएको भिमकुल बचत तथा ऋण सहकारी संस्थामा अहिले तीन हजार आठ सय ५९ सदस्य छन् । यी मध्ये महिला दुई हजार ३९ जना, पुरुष एक हजार सात सय ६३ जना र संस्थागत सदस्य ५७ रहेको सचिव भुमि गोतामेले बताए ।
भिमुकलले दुई पटक प्रोबेशन ब्राण्ड, गण्डकी प्रदेशको उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भईसकेको छ । ‘दिगो गुणस्तरीय, उत्कृष्ट ब्यवशायिक सहकारी संस्था’ भन्ने परिकल्पनाका साथ चार वर्षे रणनीतिक योजना तयार पारेको छ । २०८२ सम्म लक्ष्य पुरा गर्ने उद्देश्य रहेको सचिव गोतामेले बताए ।
२१ वटा नीति, आठ वटा निर्देशिका, सात वटा कार्यविधी लागु गरिएको अध्यक्ष श्रेष्ठले बताए । आफ्नै भवनबाट बित्तिय सेवा दिँदै आएको भिमकुल सहकारीले ई बैङकिङ, एसएमएस सेवा जस्ता कार्यक्रम संचालन गर्दै आएको छ ।
२०७८ असार २६ गते सहकारीबाट हराएको २६ लाख ३९ हजार एक सय ९१ रुपैयाँ भने अझै फेला परेको छैन । रकम चोरी भएपछि प्रहरीमा उजुरी गरिएको तर अहिले सम्म कुनै पत्तो नलागेको सहकारीले जनाएको छ । ‘हामीले पटक पटक प्रहरीमा, केन्द्रिय अनुसन्धान ब्यूरोमापनि छानबिनकालागि अनुरोध गरेका छौँ, कागजात मागेअनुसार दिएका छौँ’ उनले भने ‘तर अनुसन्धान हुँदैछ मात्रै भन्नुहुन्छ ।’




