| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा अस्पतालमा मुटुरोग परीक्षण शिविर सुरु, पहिलो दिन १० हजारले सेवा लिए

रोटरी क्लव अफ गोरखाले गोरखा अस्पतालमा मुटु रोग शिविर सुरु गरेको छ । सेभ द हर्ट, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सुरु भएको शिविरको पहिलो दिन शुक्रबार १० हजार भन्दाबढिको मुटुको परीक्षण गरिएको छ ।

करिब छ हजारको गोरखा अस्पतालमा र चार हजारको विद्यालयमै पुगेर मुटु जाँच गरिएको हो । शिविरमा पाँच सय भन्दाबढि सर्वसाधारणले सेवा लिए भने अन्य सेवा लिने सबै विद्यार्थी थिए ।

शिविरमा बरिष्ठ मुटु रोग विषेशज्ञ डाक्टर अनिल भट्टराईसहित ३० जनाको टोली र गोरखा अस्पतालका १२ जना स्वास्थ्यकर्मीको टोलीले मुटुरोगको चेकजाँच, इको, ईसिजी गरेका छन् । जाँचपछि कसैलाई शल्यक्रिया गर्नुपर्ने भेटिएमा सो सेवा पनि निशुल्क दिने भएको छ । त्यसका लागि चिकित्सकहरुले बिरामीलाई मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालमा बोलाएका छन् ।

शल्यक्रिया गर्नुपर्ने बिरामीको कुरुवा र बिरामीलाई पनि आतेजाते खर्च, बस्ने खाने ब्यवस्था समेत क्लवले जोहो गरिदिने उनले बताए । शल्यक्रिया गराएका बिरामीलाई निशुल्क रुपमा तीन पटकसम्म फलोअप चेकजाँचको व्यवस्था पनि क्लवले गरिदिने उनले बताए ।

मुटुको शल्यक्रिया सेवा लिदा लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता बिरामीलाई छ । रोटरी क्लव अफ गोरखाले यसअघि तीन पटक शिविर गरिसकेको छ ।

शिविरको पहिलो दिन सदरमुकामका सामुदायिक तथा नीजि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले परीक्षण गरकाए छन् । साथै पुराना मुटुका रोगीको फलोअप चेकजाँच, मुटु सम्बन्धी नयाँ बिरामीको पहिचान, औषधी सेवन गरेका वा जन्मजात समस्या भएका, शल्यक्रिया गराएका, हृदयघात भई बिरामी भएका र परिवारका सदस्यहरु सबैले सेवा लिएका रोटरी क्लव अफ गोरखाका अध्यक्ष कृष्ण ढकालले बताए ।

दुईदिनसम्म चल्ने सो शिविरमा १५ हजारभन्दा बढीले सेवा लिने क्लवको अनुमान छ ।
सेवा लिन विद्यार्थीकालागि निशुल्क र अन्य ब्यक्तिले भने गोरखा अस्पतालबाट ३० रुपैयाँको टिकट काट्नुपर्छ । शिविर संचालनकालागि गोरखाका स्थानीय तहहरु, गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, सहिदलखन गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेनथापा गाउँपालिकाले पनि सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्